आफ्ना कुटनीतिज्ञलाई निष्काशन गरेको प्रतिवादमा भारत सरकारले पनि क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।
निज्जरको हत्यामा भारत सरकारको हात रहेको बताएपछि यी दुई देशबीचको सम्बन्धमा तनाव बढेको छ । सोहि आरोपमा क्यानडा सरकारले भारतीय कुटनीतिज्ञ पवनकुमारलाई निष्काशन गरेको थियो । यसको २४ घण्टा नबित्दै भारतले पनि क्यानाडाली उच्चायोगका वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गर्दै पाँच दिनभित्र देश छाड्न निर्देशन समेत दिएको छ ।
यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । भारत सरकारले निज्जरलाई आतंकवादी र पृथकतावादी संगठनको प्रमुख भन्दै आएको छ । निज्जरका समर्थकहरूले यी आरोपहरूलाई अस्वीकार गर्छन्।
भारतीय प्रधानमन्त्री क्यानडामा सिख पृथकतावादीको ‘आन्दोलन’ र भारतीय कूटनीतिज्ञमाथि हिंसा भड्काउने घटनाहरुलाई लिएर रुस्ट थिए । जब कि भारतले क्यानडाको घरेलु राजनीतिमा हस्तक्षेप गरिरहेको क्यानडा प्रधानमन्त्री ट्रुडोले बताउने गरेका छन् ।
हालै सम्पन्न जी–२० को बैठकमा नरेन्द्र मोदीले जस्टिन ट्रुडोलाई दुई देशबीचको सम्बन्धमा प्रगतिका लागि ‘आपसी सम्मान र विश्वास’ आवश्यक रहेको बताएका थिए । सिख आन्दोलनले अलगाववादलाई बढावा दिने र भारतीय कूटनीतिज्ञहरू विरुद्ध हिंसा भड्काउने दाबी गर्दै मोदीले बैठकमा क्यानडामा पृथकतावादी गतिविधि रोक्न कुनै कदम उठाउन भनेका थिए भने ट्रुडोले भारतलाई क्यानडाको घरेलु राजनीतिमा हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।
सम्मेलन सकिएपछि उनी तुरुन्तै क्यानाडा जान सकेका थिएनन् । उनको विमानमा खराबी आएको थियो र उनी सोहि दिन अबेरमा स्वदेश फर्किएका थिए । हिन्दुस्तान टाइम्सको एक रिपोर्टका अनुसार यस समयमा भारतले उनलाई ‘एयर इण्डिया वन’ को सेवा प्रदान गरेको थियो तर उनले आफ्नो विमान मर्मतको लागि पर्खने बताएका थिए ।