साझा कथा । घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारत एसीसी एसिया कप क्रिकेट २०२३ को उपाधि जित्न सफल भएको छ ।
जितका लागि श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले ६ दशमलव १ ओभरमा पूरा गरेको हो । भारतका लागि ओपनरद्वय शुभमन गिलले २७ र ईशान किशनले २३ रन बनाएका थिए ।
२०२३ को उपाधि जितेसँगै भारतको यो आठौं एसिया कप उपाधि हो । भारतले यसअघि सन् १९८४, १९८८, १९९०, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतका तीब्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा निरिह बनेको थियो । शिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६ विबेट लिए भने हार्दिक पाण्डेयले तीन तथा जस्प्रित बुमराहले एक विकेट लिए ।
श्रीलंका केवल १५ दशमलव २ ओभरमा सबै विकेटको क्षतिमा ५० रनमा समेटिएको थियो । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ र दुसान हेमान्थाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
श्रीलंकाको यो एकदिवसीय क्रिकेटमा दोस्रो कम योगफल हो । यसअघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । एकदिवसीयमा सर्वाधिक कम योगफल भने जिम्बाबे र अमेरिका ३५ रनमा आउट भएको इतिहास छ । सन् २००४ मा जिम्बाबे श्रीलंकासँग ३५ रनमा र सन् २०२० मा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियो ।