दर खाने प्रचलन ‘थ्री डी’ अर्थात ड्रिङ्क्स, डिनर र डान्समा पुग्यो

राधा चालिसे

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाले हर्षोल्लासपूर्ण रूपमा मनाउँदै आएको चाड हरितालिका तिज आइतबारदेखि सुरु हुँदै छ । विशेष गरी काठमाडौँ उपत्यका र पहाडी भेगमा मनाइने यो चाडमा भाद्र शुक्ल द्वितीयाको दिन दर खाएर तृतीयाको दिन सक्नेले निराहार, निर्जल व्रत बस्ने गर्छन् । चौथीको दिन व्रतको पारायण गरेपछि पुनः पञ्चमीको दिन विशेष स्नान गरेर सप्तऋषिको पूजाआराधनापछि तिज सकिन्छ । यसरी हेर्दा यो चाड चार दिनसम्म मनाइन्छ ।

‘दर खाने’ सन्दर्भमा भने समाजमा पछिल्लो समय निकै टीकाटिप्पणी हुन थालेको छ । धार्मिक सन्दर्भमा हिमालयकी पुत्री पार्वतीले कडा तपस्या गरेर बसेको समयमा केवल जीवन धान्नका लागि भाद्र शुक्ल द्वितीयाको रात फलफूल मात्र खाएको प्रसङ्ग रहेको छ । त्यसै कथाको सिको गर्दै घरपरिवारमा भएका महिला तथा चेलीहरू जम्मा भएर अघिल्लो रात मिठोमसिनो परिकार बनाएर खाने चलन रहँदै आएको छ ।

पछिल्ला केही दशक यता भने यस परम्परालाई थप व्यापकता प्रदान गर्दै राजनीतिक दल, तिनका भ्रातृ तथा भगिनी संस्था, कार्यस्थल, औद्योगिक प्रतिष्ठान, सङ्घ सङ्गठनहरू स्थानीय तहदेखि केन्द्रीय तहसम्मका कार्यालयमा ‘दर खाने’ भन्दै तिजभन्दा केही हप्ताअघि नै जम्मा भएर खानपिन र नाचगान गर्न थालिएको छ । नयाँ संस्कृतिको रूपमा विकास हुँदै गएको यस्तो परम्पराको सामाजिक आलोचना पनि उत्तिकै हुने गरेको छ । यद्यपि, यो क्रम रोकिएको छैन । झन् बढ्दो छ । कतिपय स्थानीय तहले त विभिन्न गोष्ठी र सेमिनारको ब्यानर झुन्ड्याएर पनि तिजको नाचगान गर्ने गरेको देखिएको छ । यसरी सङ्घसङ्गठनले आफ्नो साङ्गठनिक क्रियाकलापमा नै यो पर्वलाई जोडेको पाइन्छ ।

यस्तो प्रवृत्तिको विकाससँगै होटल र पार्टी प्यालेस सञ्चालकहरूले यसलाई व्यावसायिक अवसरको रूपमा लिएर विभिन्न प्याकेज योजना अगाडि सार्न थालेका छन् । संस्कृतिविद् जगमान गुरुङ धार्मिक आस्थासँग जोडिएको दर खाने परम्परालाई ‘थ्रिडी’ (अर्थात् ड्रिङ्क्स, डिनर र डान्स) भन्दै विकृत गर्न भने नहुने धारणा राख्छन् । धार्मिक परम्पराको मर्यादालाई सोही अनुरूपमा अगाडि बढाउँदा राम्रो हुने उनको सुझाव छ । ‘थ्रिडी’ को रूपमा मनाउने नै भए अरू नाम र अवसरको खोजी गर्दा राम्रो हुने उनको भनाइ छ ।

गुरुङले भने जस्तै संस्कृतिमाथि विकृति नलागोस् भनेर सरकारको पनि ध्यान तानिएको छ । पोखरा, धादिङलगायतका कतिपय जिल्ला प्रशासन कार्यालयले त सार्वजनिक सूचना नै प्रकाशित गरी पूर्वस्वीकृतिबिना सामूहिक रूपमा दर खाने र तिजको नाचगान गर्ने कार्यक्रम नगर्न आदेश दिएको छ । तर पनि यो रोकिएको देखिँदैन । पछिल्लो समयमा महिला राजनीतिक रूपमा होस् वा सहकारीमा होस् वा विभिन्न समूह वा पेसागत सङ्घसङ्गठनमा नै किन नहोस् कहीँ न कहीँ आबद्ध भएकै हुन्छन् । सोही आबद्धतालाई सुदृढ, बलियो कसिलो बनाउने अवसरको रूपमा पनि तिज शुभकामना वा दर कार्यक्रम आयोजना हुने गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?