इतिहास दोहोर्याउने दाउमा श्रीलंका, भारत–पाक खेल हेर्ने रहर अधुरै

साझा कथा । सन् २०२२ को एसिया कप उचालेको श्रीलंका फेरि इतिहास दोहोर्याउने दाउमा देखिएको छ । साविक विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई मुस्किलले हराउदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दति अनुसार २ विकेटले विजयी भएको हो ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो । श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए ।

अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउदै थिए ।

त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए । पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । बर्षातका कारण डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ५२ रनकै लक्ष्य पाएको थियो ।

अन्तिम ओभर बाँकी रहँदा पाकिस्तानले जित्ने ठानिएको खेलमा नाटकीय मोड आयो, जब दोस्रो अन्तिम बलमा विकेट किपरले बल फुत्काउँदा ४ रन थपियो । अन्तिम बल बाँकी रहँदा श्रीलंकालाई अझै २ रन ल्याउन आवश्यक थियो । तर चरिथले सजिलै २ रन जोड्न सफल भए र श्रीलंकालाई फाइनल पुर्याए । अन्तिम बलसम्म रोचक बनेको खेलमा पाकिस्तान स्तब्ध भयो । सुपर फोरअघिको खेलमा बर्षाका कारण पाकिस्तान र भारतले एक एक अंक बाँडेका थिए । सुपर फोरको खेल पनि पानीकै कारण अवरुद्ध भएको थियो तर रिजर्भ डे मा खेलाइएको थियो । त्यसले खेलको रौनकता घटाएको थियो ।

फाइनलमा भारत र पाकिस्तानबीच भिडन्त हुने अपेक्षा गरिएपछि श्रीलंका बाधक बन्यो । भारत पाकिस्तानबीच क्रिकेट म्याच धेरैको कौतुहलताको विषय बन्ने गर्छ तर एसिया कपमा त्यो क्षण नआउने भयो । धेरैको रहर अधुरै रह्यो ।

अब आइतबार (भदौ ३१ गते) भारत र श्रीलंकाबीच फाइनल खेल हुने छ । सुपर फोरको एक खेल बाँकी छँदै भारत फाइनल प्रवेश गरिसकेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?