बस्तीको बीचबाट नदी हिँडेपछि ६ हजारको मृत्यु, १० हजार वेपत्ता

अफ्रिकी मुलुक लिबियाको एउटा बस्तीको बीचबाट नदी हिँडेपछि जनधनको व्यापक क्षति भएको छ । मङ्गलबार रातिको घटनामा छ हजारभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ । १० हजारभन्दा बढी मानिस हराइरहेका छन् ।

आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिने क्रममा बस्तीबाट छिरेको थियो । भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो । विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो । जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन् । विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ शव सामूहिक चिहानमा गाडिएका छन् । नेपाल र लिबियाबिच सन् १९७५ देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

युद्धग्रस्त मुलुक भएकाले पनि संयुक्त राष्ट्रसङ्घमार्फत लिबियामा नेपालका २३५ जना शान्ति सैनिक कार्यरत रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली शान्ति सैनिक टोली समुद्रमा हेलिएको बस्तीभन्दा करिब ११२ किलोमिटर पर रहेकाले सकुशल रहेको बताइएको छ ।

नेपालबाट वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा लिबियामा काम गर्न पुग्ने र युरोप जान समुद्रको बाटो हुँदै जाँदा त्यहाँ केही समय बस्ने भएकाले त्यसको यकिन तथ्याङ्क भने छैन ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता मार्गरेट ह्यारिसले लिबियामा आपत्कालीन अवस्था आएको बताउँदै त्यहाँ १८ लाख मानिस प्रभावित बनेको संयुक्त राष्ट्रसङ्घलाई जानकारी दिएका छन् । विश्वका ४० भन्दा बढी देशबाट युरोप जाने ट्रान्जिट देश भएकाले थुप्रै आप्रवासी विपतमा परेको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?