कुशे औँसी – पाँच किसिमका बुबा, कुशको उत्पत्ति र वैज्ञानिक महत्व

साझा कथा । आज (विहीबार) कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । यो पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर पनि मनाउने गर्छन् ।

बुबा नहुनेहरुले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । कुशे औँसीका दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आचार्य चाणक्यका अनुसार बाबु पाँच किसिमका हुन्छन् । यिनमा जन्म दिने बाबु, संस्कार सिकाउने गुरु, विद्या दिने गुरु, अन्न दिने र भयबाट मुक्त गर्ने पर्छन् । बाबुलाई संस्कृत भाषामा जनक, पिता आदि भनिन्छ । जनककोे अर्थ जन्म दिने हुन्छ । वैदिक ग्रन्थमा बाबुलाई देवताजस्तै मान्नुपर्छ भनिएको छ । यसर्थ बाबु खुसी भए सबै देवता खुसी हुन्छन् भन्ने पौराणिक कथन छ । त्यसैगरी धर्मशास्त्रले बाबुलाई पुस्कर तीर्थको संज्ञा दिएको छ । त्यस्तै, गरुडपुराणले जसका बाबु खुुसी भएका छन्, उनीहरूलाई असल सन्तान प्राप्त हुन्छन् भन्ने उद्घोष गरेको छ । अतः बाबुको सेवा गर्दा भगवान् खुसी भएर वरदान दिन आएका प्रसङ्ग पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । पितृभक्तिका कारण भरद्वाज ऋषिका सात भाइ छोराले परिवन्दवश लाग्न आएको गोवधजन्य अपराधबाट मुक्ति पाएका प्रसङ्ग हरिवंशमा भेटिन्छ ।

त्यस्तै द्वारका निवासी शिव शर्माका पाँच भाइ छोरा यज्ञ शर्मा, वेद शर्मा, धर्म शर्मा, विष्णु शर्मा र सोम शर्माले पितृभक्तिकै कारण देवदुर्लभ कर्म गर्न सफल भएको कुरा पद्मपुराणले गरेको छ । पितृभक्तिकै कारण ब्राह्मण शिरोमणि प्रशुराम चिरञ्जीवी बनेका थिए भने गणेशले अग्रपूजाको अधिकार पाएका थिए । महारथि भीष्मले इच्छामृत्यु र अर्जुनले कर्णमाथि विजय पाउनुका कारण पनि पितृभक्ति नै थियो ।

रामायणका अनुसार बाबुको आज्ञाले भगवान् राम १४ वर्षका लागि वनवासमा गएका थिए भने श्रवणकुमारले बोकेर भएर तीर्थाटन गराई वृद्ध बाबुआमाको इच्छा पूरा गरेका थिए । बाबुको खुसीका लागि महारथि भीष्म अखण्डब्रह्मचारी रहेका थिए छ । ब्राह्मण शिरोमणि प्रशुराम मातृहत्यामा समेत तत्पर भएका थिए । कृष्णले आफू स्वयम् सक्षम हुँदाहुँदै पनि बाबुको मान राख्न जन्मनासाथ गोकुल लगिदिन आग्रह गरेका प्रसङ्ग भागवतमा व्यासले उठाएका मात्र छैनन्, कंशवधपछि कृष्णले सर्वप्रथम आमाबाबुकै उद्धार गरेका प्रसङ्ग समेत उठाएका छन् । तसर्थ स्वस्थानी व्रत कथामा पनि गोमा ब्राह्मणीका छोरा नवराजको पितृभक्ति पनि उत्तिकै चर्चित भएको उल्लेख गरिएको छ ।

कुशको उत्पत्ति 
कुश धार्मिक तथा आध्यात्मिक दृष्टिकोणले पवित्र मानिएको एक प्रकारको वनस्पति अर्थात झार । कुश हिन्दू संस्कार अनुसार प्रत्येक शुभकार्य जस्तो देवकार्य, पितृकार्य वा अन्य त्यस्तै सबै धार्मिक कार्यमा यो नभई हुँदैन । सनातन धर्ममा मानिसको जन्मदेखि मृत्युसम्म प्रत्येक धार्मिक कार्यमा अनिवार्य रुपमा चाहिने पवित्र घाँस अर्थात् कुशलाई मन्त्रपूर्वक छेदन गरी घर–घरमा भित्र्याउने गरिन्छ । कुशलाई जतिबेला पनि काट्न हुँदैन एउटा निश्चित दिन अर्थात् वर्षको एकदिन भाद्र कृष्णऔंसीको दिन मात्र काटिन्छ र कुश काटेपछि पुनः अर्को कुश रोप्नु पर्छ भनिन्छ । भनिन्छ कुशे औंसीमा काटिएको कुश वर्षभरि नै प्रयोग गर्न सकिन्छ ।

कुशको उत्पतिबारे धेरै कथाहरु पाइन्छन् । जलमा डुबेको पृथ्वीको उद्दार गर्न भगवान विष्णुको तेश्रो अवतार वराहको रुपमा दैत्यराज हिरण्याक्षको बध गरिसकेपछि विश्रामको लागि समुद्र किनारमा आराम गर्नु भएको बेला विष्णुको टाउँकोबाट झरेको रौं नै कुश भएर उम्रिएको भनिन्छ । त्यस्तै गरी अर्को प्रसंग स्वस्थानी ब्रत कथा अनुसार माता पार्वती माथि जालन्धरले कुदृष्टि लगाएकोले उनलाई मार्न विष्णुले बृन्दाको सतित्व भंग गर्नु पर्यो । पतिभक्त बृन्दाको सतित्वको प्रभावले उनको पति जालन्धरलाई मार्नु असम्भव थियो । अत जालन्धरको छदम बेश गरी बृन्दाको सतित्व भंग गर्नु विष्णु बाध्य भए । यसरी एकातिर बृन्दाको पतिव्रता धर्म नष्ट भयो भने उता जालन्धरको मारिए ।

आफु छदमबेशी विष्णुबाट छलिएको थाहा पाएपछि क्रुद्ध बनेकी वृन्दाले विष्णुलाई घाँस, झार, रुख र ढुंगा हुनु परोस् भनेर चार वटा श्राप दिइन् । पतिव्रता सतिले दिएको श्रापले गर्दा विष्णुलाई त्यो श्राप लाग्यो । त्यसैको प्रतिफल स्वरुप विष्णुलाई झाररुपमा तुलसी, वृक्षरुपमा पीपल, शिलारुपमा शालिग्राम, र घाँस रुपमा कुश हुन परेको हो भनिन्छ । अतः कुशलाई विष्णुको रुप मानी देव तथा पितृकार्यमा कुशको प्रयोग भएको मानिन्छ ।

कुशको वैज्ञानिक महत्व
वैज्ञानिक दृष्टिकोणले पनि कुशको महत्व अधिक रहेको वनस्पतिविद्हरू बताउँछन् । वैज्ञानिक आधारमा भन्दा कुश एक किसिमको कुचालक घाँस भएकोले यसबाट विद्युत प्रवाह नहुने हुनाले चन्द्र तथा सूर्य ग्रहणको समयमा खाना तथा पानीमा कुश मिसाउने गरिन्छ । जसले गर्दा ग्रहणको समयमा आएको हानिकारक किरण कुशमा ठोकिएर परावर्तन हुने गर्छ भन्ने वैज्ञानिक मान्यता रहेको छ ।

ध्यान या पवित्र कर्म गर्दा कुशको चकटीमा बस्ने गरिन्छ । यसको अर्थ पनि कुचालक कुशको आसनमा बस्दा ध्यान र तपबाट पाएको ऊर्जा पृथ्वीमा गएर समाहित नहोस् भन्नको लागि कुशको आसनमा बस्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा हरेक कुराको पछाडी वैज्ञानिक तथ्य अवश्य रहेको हुन्छ । पूजा-पाठ तथा धार्मिक अनुष्ठानहरुमा कुश घासको प्रयोगको पछाडी पनि वैज्ञानिक कारण छ । खासगरी यस कुश घासमा एक किसिमको प्राकृतिक प्यूरिफिकेशनको गुण रहेको छ । यसको उपयोग वस्तुहरुलाई शुद्ध गर्ने ओखतीको रूपमा पनि गर्ने गरिएको छ । अध्ययन अनुसार कुशमा एन्टी ओबेसिटी, एन्टी अक्सीडेन्ट तथा एनालजेसिक कन्टेन्ट रहेको हुन्छ ।

दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश गरिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?