साझा कथा । सोमबार राति अप्रत्यासित रुपमा निधन भएका नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङको अन्त्यष्टि राजकीय सम्मानका साथ हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको हो ।
नेम्वाङको अन्त्यष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । एमाले उपाध्यक्ष नेम्वाङ इलाम–२ का संघीय सांसद हुन् । प्रतिनिधिसभाको सदस्यका हैसियतमा नभई नेम्वाङलाई संविधानसभाको अध्यक्षको हैसियतमा राजकीय सम्मान दिन लागिएको हो । उनले दुईवटै संविधासभाको अध्यक्षको रुपमा काम गरेका थिए । संविधान निर्माणको चरणमा नेम्वाङको महत्वपूर्ण योगदान रहेको थियो ।
नेम्वाङको अन्त्यष्टिका विषयमा भने अन्यौल छ । नेकपा एमालेले समेत कहिले अन्त्यष्टि गर्ने भन्ने निर्णय गरेको छैन । नेम्वाङका परिवारका सदस्यहरु, बेलायत र अष्ट्रेलियामा रहेका छोराहरु नेपाल आएपछि मात्रै अन्त्यष्टि गरिने बताइएको छ । किराँत–लिम्बु संस्कृति अनुसार मृतकलाई गाड्ने चलन छ । नेम्वाङको शवलाई जलाइन्छ कि गाडिन्छ, त्यो पनि निश्चित भइसकेको छैन । सुवास नेम्वाङले क्रिष्टियन धर्म अबलम्बन गर्दै आएको बताइन्छ । सो धर्म मान्ने व्यक्तिहरुलाई पनि गाड्ने चलन छ ।
क्रिष्टियन भएकै कारण नेम्वाङमाथि नेपालको संविधानमा धर्म निरपेक्ष घुसाएको आरोप लाग्ने गरेको थियो । तर उनले सो आरोप खण्डन गर्दै आएका थिए । नेम्वाङ संविधानसभाको अध्यक्षका अलावा न्याय मन्त्री, सामान्य प्रशासन मन्त्री रसार्वजनिक लेखा समितिको सभापतिको रुपमा पनि भूमिका निर्वाह गरेका थिए । उनका पिता जिल्ला न्यायाधिस थिए । विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए ।
स्नातक अध्ययनका क्रममा विसं २०२८ र २०२९ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववीयू सभापति भएका थिए ।
विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।
नेम्वाङको असामयिक रुपमा भएको निधनप्रति सबै राजनैतिक दलका शीर्ष नेताहरुले शोक व्यक्त गर्दै आफूहरु स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्नो लागि पार्टीको उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखको साथी रहेको रहेको बताएका छन् । निधनको खबर लगत्तै अस्पताल पुगेका अध्यक्ष ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली वक्तव्य दिँदै लोकतान्त्रिक संविधान निर्माणमा नेम्वाङको योगदान सधैँ सम्झिइरहने उल्लेख गरेका छन् ।