साझा कथा । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भइरहेका थिए । ओलीसँगको सम्बन्धमा दरार आएको कुरा उनी आफैँले सार्वजनिक कार्यक्रममा छनक दिन्थे । लगातार संसद अवरुद्ध गरिरहेको एमालेले असंवैधानिक काम गरिरहेको भन्दै नेम्वाङ रिसाएका थिए । त्यहि रिस उनले पूर्वको एक कार्यक्रममा पोखे । उनले भनेका थिए, लगातार संसद अवरुद्ध गर्नु असंवैधानिक र अनैतिक काम हो । त्यसो त अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दुई दुई पटक संसद विघटन गरेको कुरासँग पनि ओली र नेम्वाङबीच मनमुटाव थियो । पार्टी बैठकमा उनले संसद विघटन गर्न नहुने बताउँथे । तर बाहिर भने ओलीप्रति २०० प्रतिशत विश्वास रहेको भनेर संसद विघटनको मुद्दालाई विषयान्तर गरिदिन्थे ।
ओलीसँग नेम्वाङको धेरै चित्त दुखाई भने राष्ट्रपतिको चुनावताका भयो । प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचित भएपछि राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने थियो । सहमति अनुसार माओवादीबाट प्रधानमन्त्री भएपछि एमालेको भागमा राष्ट्रपति परेको थियो । त्यतिबेलाको सन्दर्भ अनुसार एमालेभित्र सुवास नेम्वाङ राष्ट्रपतिको बलियो दाबेदार थिए । अन्तरपार्टी समन्वय र सम्बन्धमा विश्वासिला र संविधानसभा चलाउँदा धेरै विवादमा नआएका पात्र भएका कारण उनीप्रति सबैको सदाशयता थियो । सँगै नेम्वाङको शालीन र भद्र व्यक्तित्वले पनि उनी नै राष्ट्रपति हुनुपर्ने मत बलियो बनेको थियो । यहि बीचमा प्रधानमन्त्री प्रचण्डले सुवास नेम्वाङको नामै तोकेर अध्यक्ष ओलीसँग राष्ट्र्रपतिमा सिफारिस गर्न आग्रह गरे । नेम्वाङ नभए अष्टलक्ष्मी शाक्यको नाम ल्याउन प्रचण्डले ओलीलाई अनुरोध गरे । तर ओली ईश्वर पोख्रेललाई राष्ट्रपति बनाउन चाहन्थे । ओलीले ईश्वर पोख्रेल छान्नुमा पोख्रेलप्रतिको विश्वास र पार्टीको शक्ति सन्तुलन मिलाउनुपर्ने कारण थियो । नेम्वाङको नाम ओलीले अस्वीकृत गरेपछि नेम्वाङ ओलीसँग चिढिएका थिए । त्यहिदिनदेखि उनको मन दुखिरहेको थियो । त्यसको असर पार्टी बैठकहरुमा पनि देखिन थालेको थियो । ओली र नेम्वाङ एकअर्कालाई असहयोग गर्ने रणनीतिमा थिए । सार्वजनिक कार्यक्रममा पनि त्यसको छनक पाइन्थ्यो ।
यस्तो परिप्रेक्ष्यका बीच मंगलबार विहानै नेम्वाङको निधन भयो । मध्येरात १ बजे उनी घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरुले शौचालयमा बेहोस अवस्थामा भेटेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याउँदा उनको मृत्यु भइसकेको डक्टरहरूले बताएका थिए ।
बालुवाटारस्थित निवासको शौचालयमा राति बेहोस अवस्थामा भेटिएका नेम्वाङलाई राति १ः५० बजे त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गर्दा कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । सामान्य रूघाखाेकीका कारण सोमबार उनी आराम गर्न घरमै बसिरहेका थिए ।
नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए ।
प्रतिनिधिसभा सांसद समेत रहेका सुवास नेम्वाङको शव आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ । भोलि अपराह्न मात्रै अन्तिम संस्कार गरिने तयारी छ ।
नेम्वाङ इलाम २ बाट निर्वाचित सांसद थिए । एमालेका संसदीय दलका उपनेता रहेका उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।
जेठो छोरा मिङ्सो नेम्बाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने जनाइएको छ । दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले बताए ।