साझा कथा । कर्मचारी खटनपटन गर्ने तालुकदार मन्त्रालय हो, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । सामान्यतया सामान्य प्रशासन मन्त्रालयले भदौ महिनामा अन्तर मन्त्रालय र असोज महिनामा अन्तर निकायबीचमा कर्मचारीहरूको सरूवा गर्ने गर्छ । सिके राउतको पार्टी जनमतले सो मन्त्रालय सम्हालेपछि अन्तर मन्त्रालय र निकाय सरूवामा बेथिति देखिन थालेको छ । सामान्य मन्त्रालयको सिफारिसमा अघिल्लो साता मन्त्रिपरिषदले गरेको ५८ जना सहसचिवको सरूवाको बेला मन्त्रालयमा दरबन्दी नहुँदा नहुँदै पनि सहसचिवको सरूवा गरेर थप बेथिति निम्त्याउन खोजिएको गुनासो कर्मचारीवृत्तबाटै आउन थालेको छ ।
अहिले सामान्य प्रशासन मन्त्री अनिदा देवी छन् जसको राजनीतिक पृष्ठभूमि त्यति लामो छैन । उनी ८ बर्षअघि मात्रै सिके राउतसँग नजिकिएकी थिईन् र पाँचबर्षदेखि जनमत पार्टीमा सक्रिय थिइन् । विगत पाँच वर्षमा उनले अढाई वर्ष धनुषा जिल्ला पार्टीको इन्चार्ज, प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै अध्यक्ष राउतबाट केन्द्रीय सचिवमा मनोनित हुने अवसर प्राप्त गरेकी थिइन । २०७९ बैशाख ३० मा भएको स्थानीय निर्वाचनमा जनमत पार्टीबाट जनकपुर उपमहानगर पालिकाको मेयरमा उम्मेदवार भएपनि पराजित भएकी उनलाई पार्टीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनतर्फ समानुपातिक सूचीमा नाम राखेको थियो । उनले धनुषामा ओरेक नेपाल नामक गैरसरकारी संस्थालगायतमा करिब १५ वर्ष बर्ष काम गरेकी थिइन् ।
राजनीतिक विषयमा त्यति धेरै जानकार नभएकी उनलाई चलाउने पात्र हुन् उनका पति ईञ्जिनियर सञ्जय कुमार साह । अहिले सामान्य प्रशासन मन्त्रालयमा उनकै हालीमुहाली चल्ने गरेको छ । मन्त्रीका पति साह कतारमा इन्जिनियर छँदादेखि नै जनमत पार्टीमा जोडिएका थिए । धनुषा जिल्लाको इन्चार्ज र केन्द्रीय सदस्यसमेत रहेका साहले पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा अन्तर मन्त्रालयका कर्मचारी सरूवा, नगरपालिका तथा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलगायतको सरूवामा चासो दिंदै आएको स्रोतले जनाएको छ । उनले मालदार कार्यालयमा सरूवा माग्ने कर्मचारीहरूसँग पार्टीलाई चन्दा सहयोग भनेर दररेट नै तोकेर रकम उठाउन थालेको स्रोतले बताएको छ । मधेस प्रदेशका संघीय कार्यालयमा मधेसी मूलका कर्मचारीलाई सरूवा गर्ने तयारी व्यापक भइरहेको सामान्य मन्त्रालय स्रोत बताउँछ ।