दक्षिण कोरियामा मौसमी कामदार लैजाने भनि कुनै सम्झौता भएको छैनः प्रवक्ता घिमिरे

साझा कथा । दक्षिण कोरियामा मौसमी कामदार लैजाने भनि सम्झौता भएको भनेर सामाजिक सञ्जालमार्फत आएको समाचार झुटो हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी श्रमिक लैजाने विषयमा कुनै सम्झौता नभएको भनि विज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण जनाएको छ । मन्त्रालयले दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (इपिएस) मा नेपाली श्रमिक पठाउने सम्झौताबाहेक अन्य कुनै सम्झौता नभएकाले त्यस्ता गलत सूचनाको विश्वास नगर्न विज्ञप्तिमार्फत सचेत गराएको हो ।

हस्ताक्षरसहितको मौसमी श्रमिक लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी श्रमिक पठाउने सम्झौता कोरियासँग नभएको श्रम मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरे बताए ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको नक्कली विज्ञापनमा आउँदो कात्तिक २२ सम्ममा १२ हजार नेपाली मौसमी श्रमिकका रूपमा दक्षिण कोरिया पठाउन कोरिया सरकारसँग सम्झौता भएको उल्लेख छ । मन्त्रालयका प्रवक्ता घिमिरेले सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरेकाले यसप्रति सचेत रहन आमनागरिकलाई आग्रह गरेका छन् ।

श्रम मन्त्रालयले प्रवक्ता घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गरी भ्रम सिर्जना गर्नेलाई अनुसन्धान तथा कारबाहीको प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । यस प्रकारका भ्रमित सूचना प्रवाह गर्ने जोकोहीलाई कानुन अनुसार हदैसम्मको कारबाही हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?