एसिया कपः भारत र पाकिस्तानबीचको ‘क्रिकेट एलक्लासिको’ हुँदै

साझा कथा । एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबिचको खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलंकाको कोलोम्बोमा सुरु हुँदैछ । सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरका लागि पहिलो खेल खेल्दै छ । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ भने भारत पहिलो जितको खोजीमा छ ।

भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । भारतको ब्याटिङको परीक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।

भारतको ब्याटिङ उत्कृष्ट छ । तर, विश्वकै उत्कृष्ट पाकिस्तानको तीव्र गतिको बलिङ सामु रन जोड्न सहज हुनेछैन । यस खेललाई भारतको ब्याटिङ र पाकिस्तानको तीव्र गतिको बलिङको भिडन्तको रुपमा समेत लिएको छ ।

यस एसिया कपमा भारत र पाकिस्तानबीच दोस्रो पटक भिडन्त हुँदैछ । समुह चरणमा भएको खेल वर्षाले रद्ध भएपछि दुवैले बाँडेका थिए । सो खेलमा भारतले पहिला ब्याटिंग गरेर २६६ रन बनाएपनि वर्षाले पाकिस्तानको ब्याटिंग शुरु नै हुन सकेन ।

एशियन क्रिकेट काउन्सिल (एसीसी)ले कोलम्बोमा वर्षाको अनुमानपछि यो खेलमा एक दिन ‘रिजर्भ डे’ हुने औपचारिक घोषणा गरको छ । जारी एशिया कपमा फाइनल बाहेक यस खेलको लागि मात्र ‘रिजर्भ डे’ को व्यवस्था गरिएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भारत र पाकिस्तान अहिलेसम्म १३३ पटक आमने सामने भएका छन् । जसमा पाकिस्तानले ७३ खेलमा जित हासिल गरेको छ भने भारतले ५५ खेलमा जितेको छ । त्यस्तै, ५ खेलको नतिजा निस्केको छैन।

एसिया कपको इतिहासमा भने भारत र पाकिस्तान यसअघि १७ पटक आमने सामने भएका छन् । जसमा भारतले ९ खेल जितेको छ भने पाकिस्तानले ६ खेल जितेको छ । त्यस्तै, २ खेल नतिजाविहिन बनेको थियो ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?