साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको दौरान भएको १० बर्षमा १० हजार मेगावाट विजुली भारतले किन्ने समझदारीका सम्बन्धमा देखिएको आशंका चिरिएको छ । भारत सरकारको मन्त्रीपरिषदले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै नेपालको विद्युत् खरिदमा भारत अनुदार रहेको आशङ्का पनि चिरिएको छ ।
गत जेठ १७ मा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपाल र भारतका ऊर्जा सचिवबीच भएको प्रारम्भिक सम्झौतालाई भारतको मन्त्रीपरिषद्ले स्वीकृत गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पुष्टि गरे । नेपालको विद्युत् बजारलाई दीर्घकालीन सुनिश्चितता प्रदान गर्ने गरी प्रारम्भिक सम्झौता गरिएको थियो । सो सम्झौतालाई तत्काल अन्तिम रूप दिने भनिएकामा मन्त्रीपरिषद्को निर्णयको प्रतीक्षा हुँदै आएको थियो ।
ऊर्जा सचिव घिमिरेका अनुसार अब १० हजार मेगावाट विद्युत् निर्यातका लागि नेपाल र भारतका ऊर्जा सचिवबिच अन्तिम सम्झौता हुन बाँकी छ । सचिव घिमिरेका अनुसार जलविद्युत्को उत्पादन, विस्तार र निर्यात संरचना क्रमिक रूपमा विकास हुँदै गर्दा भारतमा विद्युत्को निर्बाध व्यापार हुने सुनिश्चितता बढेको छ ।
पछिल्ला वर्ष नेपालमा भारतीय लगानीमा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ । भारत सरकारको स्वामित्वको सतलज जलविद्युत् निगमको लगानीमा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य आधाभन्दा बढी सम्पन्न भइसकेको छ भने तल्लो अरुण पनि भारतीय सरकारी कम्पनीले नै निर्माण गर्न तय भइसकेको छ ।
भारतीय लगानीमा नेपालमा ठुला जलविद्युत् आयोजना बन्न थालेपछि भारतले पनि यस्तो सम्झौताको अपेक्षा गर्दै आएको हो । सम्झौता ती आयोजनाको विद्युत्समेत भारत पु¥याउने गरी हुन लागेको सचिव घिमिरेले जानकारी दिए ।
अहिले अल्पकालीन रूपमा नेपालबाट इन्डियन इनर्जी एक्सचेन्जमा ४५२ मेगावाट विद्युत् निर्यातको स्वीकृति प्राप्त भई निर्यात भइरहेको छ भने थप आयोजनालाई पनि निर्यातको अनुमति दिन नेपाल विद्युत् प्राधिकरणले भारतको विद्युत् मन्त्रालयलाई एक वर्ष पहिलेदेखि पत्राचार गर्दै आएको छ तर हालसम्म स्वीकृत हुन सकेको छैन । मध्यकालीन निर्यात रणनीति अनुसार हालै भारतले थप १८० मेगावाट विद्युत् खरिदका लागि सबै प्रक्रिया सम्पन्न गरी केही दिनभित्रै सो परिमाणको विद्युत् लैजान तयार भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।