साझा कथा टिप्पणी
प्रेमिकाका लागि संसारमा थुप्रै युद्ध भएका छन् । सीताका लागि हनुमान मार्फत रामले लंकामा आगो लगाए । यता काठमाडौं महानगरका मेयर बालेन शाह श्रीमतीका लागि सिंहदरबारमा आगो लगाउने धम्की दिँदै छन् । यो धम्कीका कारण मेयर बालेन फेरि विवादमा फसेका छन् ।
भदौ १६ गते साँझ भैँसेपाटीबाट एउटा गाडी कोटेश्वर हुँदै सिनामंगल जाँदै थियो । कोटेश्वर नपुग्दै ट्राफिक प्रहरीले सरकारी नम्बर प्लेटको सो गाडीलाई सोधपुछ गर्न रोक्यो । गाडीमा थिइन् काठमाडौं महानगरका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले । शनिबारको दिन सरकारी गाडी प्रयोगमा बन्देज लगाइएको छ । आपतकालीन् अवस्थामा पास लिएर सरकारी गाडी चलाउन पाइन्छ तर सविना सवार त्यो गाडीसँग पास पनि थिएन । यति हुँदाहुँदै पनि प्रहरीले यात्रु चिनिसकेपछि केहि मिनेटै छोडिदियो तर पत्नीसँग नरहेका मेयर बालेनले उत्तेजक स्टाटस लेखे जसले अहिले सनसनी मच्चाइरहेको छ ।
बालेनले आफ्नी श्रीमती चढेको महानगरको गाडी रोकेर चेकजाँच गरेकोमा आक्रोश मात्रै व्यक्त गरेका छैनन्, आगामी दिनमा महानगरको कुनै पनि गाडी चेक नगर्न प्रहरीलाई धम्की पनि दिएका छन् । सिंहदरबारमा आगो लगाउने चेतावनीका साथमा उनले सरकारलाई चोर करार गरेका छन् ।
देशको सबैभन्दा ठूलो महानगरपालिकाको जिम्मेवार मेयरबाट यस्तो अभिव्यक्ति आउन नहुने भन्दै धेरै व्यक्तिहरुले चिन्ता व्यक्त पनि गरेका छन् तर कैयौँले उनको अभिव्यक्तिलाई सदर गरेका छन् । चिन्ताजनक त यो छ कि बालेन शाहको स्टाटसमा सही थप्दै हजारौँ व्यक्तिहरुले झन् उत्तेजनात्मक स्टाटसहरु लेखेका छन् । काट्ने, मार्ने, आगो लगाउने, सिंहदरबार लगायतका राज्यका संयन्त्र ध्वस्त पार्ने कुरा गरेका छन् । रोचक त के छ भने, बालेन शाहको स्टाटसमा सही थाप्नेहरु अधिकाँश युवा छन् जसप्रति नेपालले भरोसा गरेको छ ।
केहि सयमअघि बेलायतका प्रधानमन्त्री ऋषी सुनकले सवारी चलाउँदा सिटबेल्ट नलगाएको भन्दै त्यहाँको प्रहरीले ५० पाउन्ड जरिवाना तिरायो । वेलायतको विषयलाई नेपालसँग दाँज्दै कानुनको पालना यसरी हुनुपर्छ भनेर सिकाउनेहरु नै अहिले बालेनको अभिव्यक्तिमा समर्थन गरिरहेका छन् ।
मेयर बालेन शाहकी श्रीमतीको सुत्केरी स्वास्थ्यलाई यो घटनामा जोड्न खोजिएको छ । तर विर्सन नहुने पक्ष के हो भने मेयरमा निर्वाचित हुनुअघि नै बालेन शाहले भनेका थिए, म सम्पन्न परिवारको व्यक्ति हुँ, सरकारी सम्पत्तिको प्रयोग गर्न मलाई जरुरी छैन । यो काण्डले उनको दाबी चिरिएको छ ।
बालेनको दम्भपूर्ण फेसबुक स्टाटसले केहि निर्मम प्रश्नहरु जन्माएको छः
१. के निराशा र वितृष्णाको समाधान आगलागी हो ? राज्यसंयन्त्रप्रति घृणा फैलाएर निराशा साम्य हुन्छ ?
२. ट्राफिक प्रहरीले आफ्नो नियमित काम गर्दा सिंहदरबार जल्नुपर्ने ? अभिव्यक्ति स्वतन्त्रताको अर्थ काटमार गर्छु, आगजनी गर्छु भन्न पाउनु हो ?
३. सार्वजनिक पदमा बसेको व्यक्तिले आफ्नो मर्यादा कायम नराखे पनि हुने हो ?
४. के मेयर, सांसद, मन्त्रीहरु कानुनभन्दा माथि हुन्छन् ? महानगरपालिकाको गाडी शनिबार व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइने हो ?
५. आम नागरिकका लागि काठमाडौं महानगरले निःशुल्क व्यवस्था गरेको एम्बुलेन्स मेयरका परिवारले प्रयोग गर्न नमिल्ने हो ?
सार्वजनिक पदमा बसेको व्यक्तिले क्षणिक आवेगमा आएर देशको प्रमुख प्रशासनिक केन्द्रमा आगो लगाउँछु भन्नु पक्कै शोभनीय होइन । व्यक्तिगत समस्या सबैका हुन्छन् । भोली हरेक नगरपालिकाका मेयर वा उपमेयरले यस्तै प्रकृतिका घटनामा आक्रोशित हुँदै जिल्ला वा प्रदेशका संरचनाहरुमा आगो लगाउँछु भन्न त मिल्दैन होला । समस्यामा पर्ने नागरिकलाई बाटोमा प्रहरीले चेकिङ गरे त्यहि आक्रमण त गर्न मिल्दैन होला ।