खटपटकै बीचमा हिँडिरहेको छ समाजवादी मोर्चा, नेताहरु फुर्क्याउँदै प्रचण्ड

साझा कथा । माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीचको मोर्चाबन्दीको भविष्य अन्यौलपूर्ण देखिएको छ । गन्तव्यका विषयमा उस्तै मत रहेपनि तत्कालिक बाटोलाई लिएर समाजवादी मोर्चामा ठूलो खटपट छ । देखिनका लागि एमसीसीलाई विवादको चुरो मानिएपनि ४ दलबीच एकअर्कालाई प्रयोग गर्ने रणनीति मात्रै हावी हुँदा मोर्चामा तिक्तता छ । वर्तमान सरकारका कतिपय काम र एमसीसीलाई लिएर दलहरुबीच विवाद कायमै रहे पनि शीर्ष नेताले एक भएको देखाउने प्रयास भने गरिरहेका छन् ।

एमसीसीकै विषयमा विवाद हुँदा विप्लव नेतृत्वको नेकपा सहभागी नहुने भएपछि धनगढीको सभा स्थगीत गरेको मोर्चाले सुर्खेतमा भने सभा गर्यो । त्यहाँ मोर्चाका शीर्ष नेताहरुले आपसमा विवाद नभएको बरु एकतावद्ध भएको देखाउन भरमग्दुर प्रयास गरे । सुर्खेतको सभामा माधव कुमार नेपाल र उपेन्द्र यादवले प्रचण्डलाई फुर्क्याउने प्रयास गरे भने अन्तिममा बोलेका प्रधानमन्त्री प्रचण्डले पनि माधव, उपेन्द्र र विप्लवलाई खुशी पार्ने गरी मन्तव्य दिए । प्रचण्डले विगतमा एउटै पार्टी र मोर्चामा रहेपनि पालैपालो तीन जना नेतासँग छुट्टिनुपर्दा आफू दुःखी भएको तर अहिले फेरि एकै ठाउँमा आउँदा आफू जति खुशी अरु कोहि नभएको जिकिर गरे । यति भन्दै गर्दा प्रचण्डले माधव, उपेन्द्र र विप्लवले आफू भन्दा अगाडि भाषण गर्दा बोलेका कुरामा सही थाप्दै उनीहरुका कुरा हाइलाइट गरिरहे ।

प्रचण्डले आफ्नो मन्तव्यबाट तीन जना नेताहरुलाई खुशी पार्नुको रोचक कारणहरु छन् । उपेन्द्र यादव प्रचण्डसँग र खासगरी गृहमन्त्रीसँग सशंकित छन् किनकी गौर हत्याकाण्ड पीडितहरुसँगको सहमतिपछि उपेन्द्र यादवलाई आफू पक्राउ पर्ने डर कायमै छ । प्रचण्डसँग पुरानो दोस्ती रहेका कारण उपेन्द्रले आन्तरिक बैठकमा आफूलाई फसाउने षड्यन्त्र नगर्न चेतावनी दिँदै आएका छन् तर गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भने केहि भन्न सक्दैनन् । उता प्रचण्ड उपेन्द्रलाई चिन्ता नगर्न सान्त्वना दिइरहेका छन् तर गृहमन्त्री श्रेष्ठलाई भने गौर हत्याकाण्ड उपर मुद्दा चलाउन निर्देशन दिइरहेका छन् । उपेन्द्र यादव पनि मोर्चाको बलमा आफूलाई पक्राउ गर्नबाट बचाउने उपाय खोजिरहेका छन् ।

माधव कुमार नेपाललाई अहिले सबै भन्दा तनाव भएको विषय हो, पार्टीमा निरन्तर पहिरो खस्नु । पार्टीका जिल्ला कमिटिहरु धमाधम एमालेमा प्रवेश गर्न थालेपछि निक्कै आत्तिएका माधव नेपाललाई सान्त्वना दिएर आफूसँगै राख्ने रणनीति अनुसार माधवको प्रशंसा गर्दै हिँडिरहेका छन् प्रचण्ड । यस्तै अमेरिकन प्रोजेक्ट एमसीसीका विषयमा निकै आक्रोशित रहेका विप्लवलाई थुम्थुम्याउन प्रचण्डले सो परियोजना लागु हुँदा देशलाई खासै घाटा नभएको बरु विप्लवहरुको विरोधले सरकारलाई खबरदारी गरिराख्ने भएकाले विरोध जारी राख्न सुझाव दिइरहेका छन् । विप्लवहरुको विरोधका कारण अमेरिका पनि हच्किने र परियोजनालाई अरु उद्देश्य भन्दा पनि परियोजनाकै रुपमा अघि बढाउन प्रेरित गर्ने प्रचण्डको कुराले विप्लव पनि फुर्किएका छन् ।

पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरिरहँदा माधव नेपाललाई एकीकृत समाजवादी पार्टी बन्नुको औचित्य पुष्टि गर्ने चूनौति त छँदै छ, पार्टीमा एक्लै भइन्छ कि भन्ने डर पनि छ । यस्तो अवस्थामा समाजवादी मोर्चाका नाममा आफूसँग शक्ति छ भनेर देखाउनका लागि नेपाल मोर्चालाई बलियो बनाउने लाइनमा छन् । माधव नेपाल प्रचण्डलाई उपयोग गरेर सत्ता राजनीति र पावर गेममा आफू पनि सरिक भइरहन चाहन्छन् । यस्तै तराईमा साख जोगाउन मुस्किल हुँदै गएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि आगामी चुनावमा माओवादी समेतको भोटले कम्तिमा ४ देखि ५ सिट थप्ने झिनो आशा छ । यहि बीचमा ललिता निवास प्रकरणमा जोडिएका माधव नेपाल र गौर हत्याकाण्डका मुख्य दोषी किटान गरिएका उपेन्द्र जोगिन चाहिरहेका छन् । यस्तो अवस्थामा उनीहरु दुबैजना प्रचण्डलाई उपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोजिरहेका छन् । प्रचण्ड पनि उनीहरुलाई उपयोग गर्दै तत्कालका लागि वार्गेनिङ शक्ति बढाउन चाहन्छन् भने ०८४ को चुनावमा उनीहरुकै बलमा ४ देखि ५ सिट थप्न चाहन्छन् ।

राजनीतिको मुलधारमा आउन र भिज्नका लागि विप्लवलाई प्रचण्डको सहयोग अपरिहार्य भइसकेको छ । त्यसैकारण प्रचण्डलाई सरकारबाट हमला गर्न र आफूले सडकबाट साथ दिने आश्वासन दिइरहेका छन् विप्लव । बेला बेला सरकारको काम कारबाहिबारे असन्तुष्टि व्यक्त गरेपनि सार्वजनिक समारोहमा प्रचण्डको प्रशंसा गर्दै हिँडिरहेका विप्लव समाजवादी मोर्चाको भविष्य जस्तो भएपनि आफू चाँहि माओवादीमा प्रवेश गर्न खोजिरहेका छन् । तर पार्टीको पोर्टफोलियो निश्चित नभएको हुनाले तत्काल एकीकरण टरिरहेको छ । विप्लवको यो नियतिका बीच नेपालका माफिया र तस्करहरुसहित केहि जनतामा अझै विप्लवप्रति डर कायमै छ । त्यहि डरको फाइदा प्रचण्ड उठाउन चाहन्छन् ।

मोर्चाबन्दीको उद्देश्य केहि समयमै पार्टी एकता र त्यसपछि समाजवादतर्फको ठोस यात्रा भन्दै भाषण मा व्यक्त गरेपनि समाजवादी मोर्चाकाशीर्ष नेताहरु एकले अर्कालाई प्रयोग गर्ने रणनीतिमा छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?