निराजन सापकोटा
वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओले मालामाल बनाएको छ । सरकारले रोजगारीमा गएका नेपालीलाई आरक्षणको व्यवस्था गरेदेखि हालसम्म कुल ३६ वटा कम्पनीले आइपीओ बिक्री गरिसकेका छन् । यता, २ वटा कम्पनीको भने बिक्री खुला रेहको छ ।
यदि रोजगारीमा गएकाहरुले यी सबै कम्पनीको सेयर १० कित्ताका दरले पाएका छन् भने उनीहरुले कुल ४६ हजार ३३९ रुपैयाँ लगानी गर्नु पर्ने हुन्छ । बजार भाउलाई आधार मान्ने हो भने उनीहरुको पोर्टफोलियोको आकार करिब डेढ लाखको बन्न पुग्छ । यो लगानीको तीन गुणा हो । यद्यपि, उनीहरुलाई यी कम्पनीहरुको सबै सेयर हात परेको छ भन्न पनि मिल्दैन । सुरु सुरुमा आवेदकले १० कित्ता भन्दा धेरै सेयर पाउने गरेका थिए । तर अहिले भने रोजगारीमा गएकाहरुले पनि कुनैकुनै कम्पनीको आइपीओ हात पार्न भाग्यकै भर पर्नु परेको छ । अन्यथा, सामान्यतय २०-३० कित्ता सेयर पर्ने गरेको थियो । तर पनि उनीहरुलाई सेयर पर्ने संम्भावना सर्वसाधारणको तुलनामा धेरै नै हुन्छ ।
सरकारले ल्याएको नियम अनुसार कुनै पनि कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्दा १०५ सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई जारी गर्नुपर्ने हुन्छ । रेमिटेन्स बढाउनका लागि आइपीओ आरक्षणको व्यवस्था गरिएको हो । अहिले विदेशमा रहेका श्रमिकहरुले यसको भरपुर फाइदा उठाएका छन् । र दैनिक आवेदन दिनेहरुको संख्यामा वृद्धि आएको छ । यता, रोजगारीमा गएकाहरुले घोराही सिमेन्टमा मागेजति सेयर पाएका छन् । त्यसैले उक्त टेवलमा प्रतिव्यक्तिले पाएको सेयर औसत ५० कित्ता मानिएको छ । त्यस्तै, रोजगारीमा गएकाहरुले आइएमई लाइफको ९० कित्तासम्म सेयर हात पारेका छन् । त्यस्तै, सन नेपाल तथा सिटिजन लाइफको ५० कित्ता र रिलायवल नेपालको ६० कित्तासम्म सेयर पाएका छन् ।
यिनीहरुको सेयर कारोबार सूचारु नभएकोले तलको टेबलमा यस्ता कम्पनीहरुलाई नेटवर्थको २ गुणा मात्र भाउ तोकिएको छ । कुनै पनि कम्पनीको पहिलो कारोबार त्यसको नेटवर्थको तीन गुणासम्मको दरभाउमा हुने गरेको छ । सूचीकृत भएको केही दिनसम्म इन्सुरेन्स कम्पनीहरुको सेयर कारोबार नेटवर्थको ३ गुणाभन्दा धेरैमा पनि हुने गरेको छ ।
नयाँ कम्पनीमा लगानीकर्ताहरुको आकर्षण हुने भएकाले पनि सूचीकरण हुन बाँकी कम्पनीको सेयर मूल्य २ गुणा भन्दा माथि जान सक्ने अनुमान लगाउन सकिन्छ । यता, सबै कम्पनीको अधिकतम १० कित्ता मात्र सेयर बाँडफाँट भएको छैन । कुनै कम्पनीको २० देखि ९० कित्ता पनि वितरण भएको छ । यसरी १० भन्दा धेरै सेयर कैसैले हात पारेको छ भने उसको पोर्टफोलियो अझै धेरै हुन्छ । सबैभन्दा धेरै नाफा इन्सुरेन्स कम्पनीबाट भएको देखिएको छ । रोजगारीमा गएकाहरुले यस्ता कम्पनीको सेयर धेरै पाउने र बजारभाउ पनि धेरै बढ्ने हुँदा बिमा कम्पनीको सेयर फाइदाजनक साबित भएको छ ।