साझा कथा । काठमाडौं महानगरपालिका सुधार्ने प्रयत्नमा रहेका मेयर बालेन शाह बेला बेला विवादमा आइरहन्छन् । अधिकाँश समय शुक्रबार र शनिबार पारेर आउने उनका सामाजिक सञ्जालका स्टाटसले उनलाई विवादमा तानिरहन्छ । निर्वाचित भएको १ बर्ष ४ महिनाका अवधिमा उनले काठमाडौं महानगरमा जति काम गरेका छन्, त्यो प्रशंसायोग्य नै छ । तर लहडमा बग्दा र आफ्नो बडप्पन देखाउँदा बालेनलाई त्यसले व्याक फायर गर्ने गरेको छ ।
श्रम संस्कृतिको अभियान चलाएर वाहवाही बटुलेका धरानका मेयर हर्क साम्पाङको अशोभनीय स्टाटस र छुद्र बोलीका कारण हरेक दिन विवादमा आउँछन् । त्यहि डिग्रीमा बालेन विवादमा त आउँदैनन् तर उनको विवादास्पद कुराहरु पनि धेरै छन् । टुकुचा खोज्ने अभियान, सडकपेटीको व्यापार प्रतिबन्ध र सुकुम्बासी हटाउने अभियानमा हतारो देखाउँदा विवादमा आएका बालेनले फेरि हतारो देखाएका छन् । देशको सबैभन्दा ठूलो महानगरपालिका र केन्द्र सरकारलाई अप्ठ्यारो पार्ने गरी बालेनले चीन भ्रमण रद्द गरेका छन् जसले कुटनैतिक असर पुर्याउने देखिन्छ ।
भदौ १५ गते विहीबार बालेन चीन भ्रमणमा जानुपर्ने थियो तर गएनन् । चीन नजाने उनको अप्रत्याशित निर्णय थियो । चीनले भदौ ११ गते जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेको छैन । नेपालले २०७७ जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । तर चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइदिएको छ । त्यसैको विरोध स्वरुप बालेन शाहले चीन भ्रमण रद्द गरेको दाबी गरेका छन् ।

“नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं,” बालेनले फेसबुकमा लेखेका छन्, “त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँचदिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”
उनको यो निर्णयलाई लिएर सामाजिक सञ्जालमा धेरैले स्वागत पनि गरे । मेयर शाहले चीनको निमन्त्रणामा मै भ्रमण तय भए पनि कहिले र कुन प्रयोजनका लागि भनेर स्पष्ट पारेका छैनन् ।
बालेनको यो निर्णय भ्रम छर्ने मनशायले आएको छ । खासमा चीनको वेइजिङमा आयोजना हुन लागेको संस्कृति आदानप्रदान कार्यक्रममा उपमेयर सुनिता डंगोललाई निम्तो गरिएको थियो । त्यो निक्कै सानो प्रकृतिको कार्यक्रम थियो । तर मेयर बालेन शाहले डंगोलको साटो आफू जाने निर्णय गराएका थिए । महानगरमा यो निर्णयलाई लिएर विवाद थियो । उपमेयर पक्षधरहरुले बालेनले बलजफ्ती गरेर आफू चीन जान खोजेको भन्दै विरोध गरिरहेका थिए । त्यहि विवादको बीच मेयर बालेनले सार्वजनिक खपतका लागि नक्सालाई बहाना बनाइदिए र चीन भ्रमण रद्द गरे ।
केहि महिना अघि भारतले अखण्ड भारतको मुरल नक्सा सार्वजनिक गर्दै नेपालका भूभाग पनि समेटेको थियो । त्यसलाई काउन्टर गर्दै मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा झुण्ड्याउन लगाएका थिए । तर आफू भने भारत भ्रमणमा थिए ।
भारतसँग नेपालको सीमा विवाद अथाह छ, तर चीनसँग एकदमै कम विवाद छ । स्पष्ट देखिने गरी भूमि मिच्ने देश भारतको भ्रमणको बेला नदेखिएको बालेनको राष्ट्रियता छिमेकी चीनलाई चिढ्याउने गरी देखिएको छ । जसलाई कुटनैतिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले दुखद भनेका छन् ।
यहाँ स्मरणीय के छ भने, बालेन त्यतिबेला सुटुक्क भारत गएका थिए जतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि भारत भ्रमणमा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि त्यतिबेला भारतमै थिए ।
अहिले पनि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणको तयारीमा छन् । भ्रमणको पूर्वसन्ध्यामा बालेनले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्ने गरी निर्णय गरेको सत्तारुढ नेताहरुको टिप्पणी छ । तुलनात्मक रुपमा सौहाद्रपूर्ण रहेको चीनसँगको नेपाल सम्बन्धलाई यसले असर गर्ने जानकारहरु बताउँछन् ।