साझा कथा । आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ । विशेष गरि नेवार समुदायले एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी टोल परिक्रमा गराउने गर्छ । नेवार समुदायमा पनि ठाउँ विशेषका गाईजात्रा कार्यक्रम हुने गर्छ । काठमाडौंको तारकेश्वरस्थित जरङ्कुमा भने धादिङ तथा गोरखाबाट विभिन्न परिस्थितिले काठमाडौंको विभिन्न ठाउँमा आई बसोबास गरेका आरुघाटवासीहरुले एक विशेष कार्यक्रमको आयोजना गरि गाईजात्रा मनाए । विशेषत काठमाडौंमा छरिएर रहेका नेवार समुदायलाई एकीकृत गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।
विशाल नगर नेवा गुठीले आयोजना गरेको सो गाईजात्रा आरुघाटमा मनाइने गाईजात्राकै शैलीमा निकालिएको थियो । जहाँ गाई नाच, लाखे नाच तथा टाकटुके नाचलाई बजार परिक्रमा गरिएको थियो । गाई निकाल्ने कार्यक्रम भने स्व. पदमकुमारी श्रेष्ठको नाममा छोरा दिपेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा खैजडी नाचसमेत प्रस्तुत गरिएको थियो । पहाडी परिवेशको झल्को दिने गरि निकालिएको गाईजात्रा कार्यक्रमले सहरमा आकर्षण थपेको थियो भने नयाँ पुस्ताका लागि नासोसमेत बन्यो । गाईजात्रा विशेषका रुपमा साझा कथामा फोटो कथा प्रस्तुत गरेका छौं ।