साझा कथा । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले बुधबार विश्व च्याम्पियन पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै छ । एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कप खेल्नका लागि नेपाली टोली पाकिस्तान पुगेको छ । नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो । औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो ।
समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ । क्रिकेटमा एसियाको सबल राष्ट्रसँग खेल्न लागेको नेपालको प्रदर्शन कस्तो होला भन्ने सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । विश्व क्रिकेटमा बादशाह मानिने भारत र पाकिस्तानसँगको खेलमा जित्ने भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्ने नीति नेपालको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि नेपालले पाकिस्तान र भारतलाई प्रतिस्पर्धात्मक चुनौती दिने ्बताएका छन् । आफ्नो टोली पाकिस्तानभन्दा अनुभवमा मात्र पछाडि रहेको उल्लेख गर्दै उनले नेपाली खेलाडीहरूमा क्षमता भने रहेको बताएका छन् ।
यता पाकिस्तानका कप्तान बाबर आजमले कुनै पनि टोलीलाई आफूले कमजोर नआँक्ने बताएका छन् । पाकिस्तानले नेपालविरुद्ध उत्रने टोली सार्वजनिक गरेको छ । पाकिस्तानी टोलीमा सबै पहिलो रोजाइका खेलाडीहरूलाई समावेश गरिएको छ । यसअघि एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।
यसअघि एक पटक छनोट भए पनि एसिया कप आयोजना नभएका कारण एसियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन सकेको थिएन । एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो । यो मौका सन् २००५ मा पनि जुरेको थियो । नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन ।
यसपटक पनि भारत र पाकिस्तानबीचको विवादको पृष्ठभूमिमा झन्डै झन्डै प्रतियोगिता नै रद्द हुनसक्ने स्थितिसम्म सिर्जना भएको थियो । यसको उत्कर्षमा नेपालले दुई खेल खेल्न दुई राष्ट्र पुग्नुपर्ने भयो । पाकिस्तान र श्रीलंकामा हुने खेलमा नेपाल पुग्नुपर्नेछ ।
एशिया कपका यस अघिका १५ संस्करणमा २०१६ र २०२२ मा टी-२० फर्म्याटमा खेलिएको थियो भने १३ संस्करण एकदिवसीय फर्म्याटमा खेलिएको छ । अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक एशिया कपको उपाधि जितेको छ । श्रीलंकाले अहिलेसम्मका सबै १५ संस्करणमा भाग लिएर ६ पटक उपाधि जितेको छ । त्यस्तै पाकिस्तानले १४ पटक एशिया कप खेल्दै २ पटक उपाधि जितेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जीतका लागि शुभकामना दिएका हुन् ।