साझा कथा । इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानविरुद्ध सुनाइएको सजायमाथि रोक लगाएको छ । तोशाखाना भ्रष्टाचार मुद्दामा इस्लामाबाद उच्च अदालतले खानमाथि लगाइएको सजायमा रोक लगाएको हो ।
मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो।
अदालतले खानलाई धरौटीमा छाड्न आदेश दिएको छ । मुख्य न्यायाधीश फारूकले अहिलेलाई इमरान खानको आग्रह स्वीकार गरिएको पत्रकारहरूलाई बताएका छन् । पीटीआई प्रमुख खानका कानुनी सहयोगी नइम हैदर पन्जोथाले समेत आफूहरूको आग्रह अदालतले स्वीकार गरेको बताए ।
खानलाई गत अगस्ट ५ मा तोशाखाना भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै इस्लामाबाद ट्रायल कोर्टले ३ वर्ष जेल सजाय सुनाएको थियो । अदालतको आदेशसँगै खानलाई लाहोरस्थित निवासबाट पक्राउ गरिएको थियो । अदालतले सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो ।
इस्लामावाद उच्च अदालतको आदेशले खानलाई केही राहत मिलेको छ । तर, उनी थुनामुक्त हुने निश्चित देखिएको छैन । विशेष अदालतले खानलाई अर्को मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।
प्रसिद्ध क्रिकेटर हुँदै राजनीतिमा आएका खान सन् २०१८ देखि २२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए ।