भारतको चन्द्र यात्रा – आफ्नै खिसिटिउरी गरेर बस्ने कि ज्ञान लिने ?

साझा कथा । भदौ ६ गते भारतले चन्द्रमा चुम्यो । चन्द्रयान – ३ नामाकरण गरिएको भारतको उक्त अन्तरिक्षयानले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेसँगै भारतले ऐतिहासिक सफलता प्राप्त गरेको छ । साथै अहिलेसम्म कुनै पनि देश पुग्न नसकेको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका कारण पनि भारत उत्साहित भएको छ ।

भारतले चन्द्रमा चुमेपछि नेपालमा भने खिसिटिउरीको सृङ्खला सुरु भयो । ‘भारतले चन्द्रमामा पाइला राख्यो, हामी चाँहि गाईगोरुको बहसमा छौँ’…, ‘भारत चन्द्रमा पुग्यो, नेपालीहरु खाडी पुगे…’, ‘भारत चन्द्रमामा पुगिसक्यो, हामी चाँहि मुग्लिनबाट काठमाडौं कहिले पुग्ने होला ?…’, ‘भारतको चन्द्रयान चन्द्रमा पुग्यो, हामी भने भ्यु टावरमा अल्झिरहेका छौँ…’ भन्दै सामाजिक सञ्जालमा आफ्नै खिसिटिउरी सुरु भयो । यतिसम्मको टिप्पणी त ठिकै होला, सामाजिक सञ्जालका प्रयोगकर्ता निम्नस्तरमा ओर्लिएर आफ्नै देश, आफ्नै नेताहरु र आफ्नै समाजविरुद्ध खिसिटिउरीमा उत्रिए । अझ रोचक बहस त राप्रपा निकट कार्यकर्ताहरुबाट सुरु भयो । ‘भारत भर्खर चन्द्रमा पुग्यो, हामी त बर्षौअघिदेखि चन्द्रमालाई हाम्रो झण्डामा समावेश गरिरहेका छौँ, त्यसमा गर्व गरौँ, नेपाल भारतभन्दा अघि छ..’ भन्ने आशयका निक्कै सस्ता र फोस्रो आत्मरतिका टिकाटिप्पणी राप्रपाका नेता कार्यकर्ताबाट व्यक्त भयो ।

यस्तो खिसिटिउरी जनस्तरमात्रै होइन, विभिन्न राजनैतिक दलका ठूलै नेता र जिल्ला तहका कार्यकर्ताहरुबाट पनि व्यक्त भइरहेको छ । अर्थात आफ्नो देशको अवस्था सुधार्नका लागि रचनात्मक सुझाव दिनुको साटो उल्टो व्यङ्ग्यतिर लागिएको छ । अध्ययन अनुसन्धानतर्फ चासो होइन, देशको अवस्थालाई झन् विगार्ने र सामाजिक मनोविज्ञान निरुत्साहन गर्ने काम भइरहेको छ । यस क्षेत्रमा काम गरिरहेका र अध्ययन अनुसन्धान गरिरहेका व्यक्तिहरुलाई समेत नमीठो हुने गरी टिकाटिप्पणी गरिएको छ ।

भारतले चन्द्रमामा टेकेको विषयलाई कतिपयले त फेक धन्दा सुरु भएको समेत भने । कुनै रेगिस्तान (मरुभूमि) मा यान लगेर भारतले नाटक गरेको भन्न समेत भ्याए । वास्तवमा भारतले चन्द्रमामा पाइला टेकेको विषय चानचुने हुँदै होइन । चन्द्रामामा यानको सफल प्रक्षेपण गर्ने देशको सूचीमा भारतले आफूलाई चौथो नम्बरमा उभ्याएको छ । पहिलो रसिया, दोस्रो अमेरिका र तेस्रो चीन रहेका थिए । भारतले सन् २०२३ जुलाई १४ मा प्रक्षेपण गरेको थियो, सफल अवतरण भने सन् २०२३ अगस्ट २३ मा भयो । सन् १९५९ को सेप्टेम्बर १३ मा रसियाको लुना–२ चन्द्रमामा पहिलो पटक सफल अवतरण भएको थियो । विश्वबाट चन्द्रमामा पहिलो अवतरण भएको ६४ बर्षपछि भारतले पनि आफूलाई विज्ञान प्रविधिको क्षेत्रमा अब्बल राष्ट्रको रुपमा उभ्याएको छ ।

भारतीय यानको सफल अवतरण अझ महत्वपूर्ण किन छ भने, चन्द्रमाको दक्षिण ध्रुवमा एकदमै कम अन्वेषण भएको छ । त्यहाँ धेरै रहस्यहरु लुकेको हुन सक्छ । भारतको चन्द्रमा–३ मिसनले त्यहि दक्षिणी धु्रवको सतहमा पानीको स्रोतको रुपमा बरफको खोजी गर्ने र भविष्यमा मानव बस्तीको सम्भावनाबारे खोज अनुसन्धान गर्ने मुख्य उद्देश्य राखेको छ । चन्द्रमाको दक्षिण ध्रुव पुग्नु भनेको यो केबल भारतको मात्र सफलता नभएर विज्ञानको क्षेत्रमा मानव जातिकै एउटा ठूलो उपलब्धि हो ।

भारतले पाएको सफलताले नेपाली वैज्ञानिकलगायत अन्तरिक्षबारे अध्ययन अनुसन्धान गर्नेहरूलाई पनि यो विषयमा ज्ञान आर्जनका लागि निकै फाइदा पुग्ने छ । तर खिसिटिउरीमै रमाउने र सामाजिक सञ्जाललाई दुर्घन्धित बनाउने प्रवृत्तिले नेपालको विकास कहिल्यै हुने छैन । नेपालले भारतको चन्द्रयान यात्राबाट धेरै कुरा सिक्न सक्छ । यसबाट प्राप्त हुने तथ्यांक विश्लेषणका लागि उपयोगी हुने त्रिभुवन विश्वविद्यालयको इस्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजीका डिन तथा प्राध्यापक डा. विनिल अर्यालले बताएका छन् । “अन्तरिक्ष अभियानमा भारतले योजना अनुसार जसरी यान नै पुर्‍याउन सक्यो त्यसले भारतको मात्रै होइन यो क्षेत्रकै क्षमता अभिवृद्धि भएको हो । यो हाम्रो लागि पनि अत्यन्तै खुसीको कुरा हो,” अर्यालले भनेका छन् ।

चन्द्रयान प्रक्षेपणमा अवधारणागत रूपमा भारतको साझेदार रुस रहे पनि प्रविधि विकासमा यो भारतमै निर्मित भएकोले यसको छुट्टै महत्त्वका साथ मूल्याङ्कन हुनेछ । एस्ट्रोफिजिक्स अध्ययन गर्ने र यसबारे विभिन्न कार्यक्रममा भारतको इसरो (वैज्ञानिक अनुसन्धान गर्ने निकाय) मा नेपाली प्राध्यापकहरू र विद्यार्थीहरू पनि अब्जरभेटरीहरूमा सिक्न जाने गरेकाले यो नेपालीका लागि महत्त्वपूर्ण हुनेछ ।

वैज्ञानिक अध्ययनका लागि रोचक रहेको चन्द्रमाको दक्षिणी भेगमा भएको सफ्ट ल्यान्डिङ साँच्चै ऐतिहासिक हो र यसमा काम गरिरहेका र चासो भएकालाई यो साँच्चै ठूलो उपलब्धि हो । हामी नेपाली चन्द्रमामै पुग्न नसके पनि भूउपग्रहको अध्ययन गरिरहँदा हामीलाई ज्ञानमा मद्दत गर्छ । तर ज्ञान लिने, अध्ययन अनुसन्धान गर्ने बानीको विकास गर्नुपर्छ । राज्यले पनि त्यसमा सहयोग गर्नुपर्छ । भारतको चन्द्रयान–३ मा प्रयोग भएको सेन्सर, प्रविधि, एल्गोरिदम, इन्जिन, इफ्युजनलगायतको कुराको ज्ञान लिन सरकारले पहल गर्नुपर्छ ।

ज्ञानका लागि तिर्खाएका नेपालीहरु आफैँ कुवा धाउनुपर्छ । छिमेकमै यो तहको ज्ञान छ, प्रविधि छ भने नेपालले सबैभन्दा नजिकको छिमेकीको हिसाबले स्पेस डिप्लोमेसी अगाडि बढाउनुपर्ने विज्ञहरुको भनाई छ । भारतले चन्द्रयान अवतरण गराउँदा नेपाल भने अन्तरिक्ष अभियानको कखरा सिक्दै छ । अहिले पनि नेपालले अरू देशले राखेका भूउपग्रहको सेवा लिइरहेको छ । आफ्नै भूउपग्रह राख्न प्रयासरत छ । यस्तो अवस्थामा सरकारलाई स्पेस अध्ययनका लागि दवाव बढाउने काम जनस्तरबाट हुनुपर्छ । जनता पनि ज्ञान आर्जन, अध्ययन अनुसन्धानका लागि भोकाउनुपर्छ । भएको अवस्थालाई खिसिटिउरी गरेर कहिँ पुगिदैन ।

नेपाल अन्तरिक्ष कार्यक्रमका सन्दर्भमा भारत मात्रै नभई दक्षिण एशियामा पाकिस्तान र बाङ्ग्लादेशभन्दा पनि निकै पछाडि छ । उनीहरू अन्तरिक्ष नीति बनाएर अन्तरिक्षसम्बन्धी अध्ययन गर्न इन्डिया स्पेस रिसर्च अर्गनाइजेशन इसरो, पाकिस्तान स्पेस एन्ड अपर एटमोस्फियर रिसर्च कमिसन, बाङ्ग्लादेश स्पेस रिसर्च एन्ड रिमोट सेन्सिङ अर्गनाइजेशनजस्ता संस्था बनाएर अगाडि बढेका छन् ।

नेपालमा भने त्यस्तो एउटा निकाय वा अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने कुनै संस्थासमेत गठन हुन नसकेको विज्ञहरू बताउँछन् । नेपालमा अन्तरिक्ष नीति अझै बन्न नसके पनि तीन वर्षअघि भूउपग्रह नीति बनेको थियो तर त्यसले पनि उल्लेख्य अध्ययन र अनुसन्धान गर्न सकेको छैन ।

-बीबीसीको सहयोगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?