साझा कथा । छोरा सारुक ताम्राकारको वियोग र मिर्गौलासम्बन्धि रोगले थलिएका कलाकार सानु ताम्राकारको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ७४ वर्षका ताम्राकार २८ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए । उनको शनिवार दिउँसो निधन भएको हो ।
सानु ताम्राकारको अन्त्यष्टिका लागि थुप्रै कलाकारहरु पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा जम्मा भएका सबैजसो सानु र सारुकलाई सँगसँगै सम्झँदै थिए । कसैले पनि सानु र सारुकलाई छुट्याएर बोल्दै बोलेनन् । सारुकको गत असार २१ गते निधन भएको थियो । उनले घरमै आत्महत्या गरेका थिए ।
५१ औं दिनको अन्तरमा नै कलाक्षेत्रमा अमूल्य योगदान पुर्याएका बुबा (सानु) र उदाउँदो कलाकार छोरा (सारुक)को निधनले घर परिवार त विछिप्त हुने नै भयो समग्र कला क्षेत्र नै यतिखेर शोकमा छ । सोही कारणले पनि हुन सक्छ अन्त्यष्टि कार्यक्रममा कलाकार र शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो ।
श्रद्धाञ्जलीका क्रममा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले संघको तर्फबाट ताम्राकारको पार्थिव शरीरलाई कलाकार संघको झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए भने अधिकांशले फूल, माला र अविर लगाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पशुपति आर्यघाटमा केही समय श्रद्धाञ्जलीका लागि शव राखिएको थियो । सो समयमा अधिकांश कलाकारहरुले सानुलाई श्रद्धाञ्जली अर्पण गर्दै सारुकको न्यायका लागि आवाज उठाए । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सानु दाइको प्राण सारुकको वियोगमै गएको बताए । उनले सानुको आत्माले शान्ति पाउनको लागि पनि सारुकले न्याय पाउनु पर्नेमा जोड दिए ।
त्यस्तै, कलाकार निर शाहले सारुककै निधन पछि सानुलाई रोगले बढी च्यापेको भन्दै आफ्नो शरीरको रोग भन्दा बढी छोराको वियोगले सानुको निधन भएको बताए । त्यसैले, सारुकको घटनाको सत्य निरुपण भए मात्रै सारुक र सानु दुबैले शान्ति पाउने शाहको भनाइ छ । हरेक कलाकारको दुःखलाई आफ्नै दुःख सम्झने कलाकार सानु ताम्राकार रहेको भन्दै अभिनेत्री वसुन्धरा भुसालले यस्तो व्यक्ति गुमाउनु पर्दा समग्र कला क्षेत्रनै शोकमा डुबेको बताइन् । उनले पनि सारुक ताम्राकारको न्यायका लागि सबैले आवाज उठाउनु पर्ने बताए ।
नजिकबाट सानु ताम्राकारः
सानु ताम्राकार नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवाहाक अध्यक्ष हुन् । उनी यसै संघमा तीन पटक उपाध्यक्ष पदमा रहेर जिम्मेवारी वहन गरेका थिए । ताम्राकार अभिनय र नृत्यमा पारङ्गत थिए ।
उनले मोहनी, जुनतारा, छोरा, बाबुसाहेब, लगनगाँठो, पल, जिद्दी, फेरि तिम्रो याद आयो, स्टार, आँधीतुफान, दशगजा, भुइँमान्छे, मनमनै मनपराए, मेरी मामु लगायतका दर्जनौ चलचित्रमा अभियन गरेका छन् । चलचित्रसँगै टेलिचलचित्रमा पनि उसैगरि नाम कमाएका ताम्राकारले कसलाई आफ्नो भनूँ, बाचा बिर्सिएको छैन, दुई दिनको जिन्दगी, मृगतृष्णा, बलेसी, करुणा, मिस्टर फत्ते लगायत दर्जनौँ टेलिसिरियलमा अभिनय गरेका छन् । उनले नेवारी चलचित्र, नाटक र टेलिफिल्ममा समेत अभिनय गरेका छन् ।