साझा कथा । सन् २०१९ मा फैलिएको कोभिड महामारीले विश्वभरि पारेको असर र त्यसपछि रुस–युक्रेन युद्धको अवस्थाले थपेको जटिलताका कारण नेपालको अर्थतन्त्रमा लगातार असर परिरहेको छ । आर्थिक बर्ष २०७९–८० अर्थतन्त्रका हिसाब निराशाजनक नै रह्यो । यो वर्ष विदेशी मुद्राको सञ्चिति, शोधनान्तरजस्ता बाह्य क्षेत्रमा उल्लेख्य सुधार भयो भने आन्तरिक अर्थतन्त्र अझै चलायमान हुन नसकेको देखिएको छ । वस्तु एवं सेवा दुवै जोडेर देशले वर्षभरि गरेको कुल गार्हस्थ उत्पादन वा जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । तर सरकारको वित्तीय घाटा ४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारले १ बर्षको अवधिमा ९ खर्ब ५७ अर्ब रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने खर्च चाहिँ १४ खर्ब भन्दा धेरै रहेको थियो । यो वर्षको मुद्रास्फीतिको दर ७.७४ प्रतिशत रह्यो । अर्थात् महँगी निकै बढ्यो ।
नेपाली विद्यार्थीहरूले यो एक वर्षमा विदेश अध्ययनका सिलसिलामा १ खर्ब रुपैयाँ बराबर विदेशी मुद्रा लगेका छन् । करिब ४ अर्ब रुपैयाँ चाहिँ शिक्षाबाट देशले आर्जन गरेको देखिन्छ ।
अघिल्लो वर्ष जम्मा ६७ अर्ब अनि त्योभन्दा अघिल्लो वर्ष जम्मा २५ अर्ब रुपैयाँ मात्र त्यसरी नेपाली विद्यार्थीले विदेश पढ्नका लागि खर्च गरेका थिए ।पढ्नका लागि मात्र होइन घुम्नका लागि पनि नेपालीहरूले मनग्गे खर्च गर्ने गरेका छन् । घुमफिर सहित अन्य प्रयोजनका विदेश भ्रमणका लागि नेपालीहरूले ४४ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
जबकी गत आर्थिक बर्षको अवधिमा पर्यटनबाट देशले कमाएको रकम ६१ अर्ब रुपैयाँ जति छ । यो वर्ष आठ लाख ६२ हजार विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
अघिल्लो वर्ष नेपालको विदेशी सञ्चिति घट्न थालेपछि सरकारले आयात तथा कर्जा प्रवाहमा कडिकडाउ गरेको थियो । यो अवधिमा भने विदेशी मुद्राको सञ्चिति निकै सुधारिएको छ । २०८० को असार मसान्तमा देशको ढुकुटीमा १५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरका विदेशी मुद्राको भण्डार छ । जसमध्ये करिब २२ प्रतिशत भारतीय मुद्रामा छ । यो रकमले करिब १० महिनाको वस्तु तथा आयात धान्न पुग्छ । २०७९ को असार मसान्तमा यो सञ्चिति करिब १२ खर्ब रुपैयाँ बराबरको रहेको थियो ।