बागेश्वर बाबा अर्थात अर्को ‘रङ नम्बर’

  • रामकृष्ण शर्मा

भारतमा निकै चर्चा कमाइरहेका विवादास्पद धर्मभीरु ‘बागेश्वर धाम सरकार/बाबा’ अर्थात धिरेन्द्रकृष्ण शास्त्री शनिबार नेपाल आए । त्यहि दिन शास्त्रीको देश भारतमा शिक्षकले पिउने पानी पिएको भन्दै निर्घात कुटिएका एक जना दलित विद्यार्थीको ज्यान गयो । राजस्थानको जालोरमा भएको घटना थियो त्यो । कुटपिटबाट आँखा र कानमा गम्भीर चोट लागेका ९ बर्षीय बालकको ज्यान जानुमा छुवाछुत प्रधान कारण थियो । यो घटना सुनेपछि बागेश्वर धाम बाबा खुशी भए होलान् कि दुःखी भए होलान् ?

धिरेन्द्र कृष्ण शास्त्री जन्मदा धिरेन्द्र कृष्ण गर्ग थिए । अग्रवाल परिवारभित्रको गर्ग बाह्मण जातिभित्र पर्छ । उनै धिरेन्द्रकृष्ण गर्ग अहिले ‘बागेश्वर धाम सरकार’को नामले परिचित छन् जसले २७ बर्षको उमेरमै भारत र नेपालमा लोभलाग्दो चर्चा कमाइरहेका छन् । तर धिरेन्द्रकृष्ण शास्त्री कसरी बाबा बने ? के उनी साँच्चै बाबा हुन् ? हिन्दु धर्ममा प्रचलित पगरी ‘बाबा‘ सामान्य वा हलुका शब्द होइन, बाबा हुनका लागि चाहिने योग्यता, क्षमता, दक्षता र अनुभव शास्त्रीसँग छ कि छैन ? धर्मले भाइचारा वृद्धि गर्छ, सहिष्णुता सिकाउँछ, धर्मले अरुको अस्तित्व स्वीकार गर्न सिकाउँछ, के बागेश्वर धाम बाबाले सहिष्णु समाज निर्माणमा योगदान दिइरहेका छन् ? धर्म गुरुहरु मानवता सिकाउँछन्, के बागेश्वर बाबा मानवता सिकाइरहेका छन् ? यस्ता प्रश्नहरु यावत् छन् ।

उनै बागेश्वर बाबालाई नेपाली काँग्रेसका अर्बपति सांसद विनोद चौधरीले नवलपरासीस्थित शास्वतधाममा बोलाएर प्रवचन लगाइरहेका छन् । लाखौँ नेपालीलाई बागेश्वर बाबाको प्रवचन सुन्न बोलाएर शास्वत धामको व्यापार बढाइरहेका छन् । एकजना व्यापारीले समाजको सेन्टिमेटको आड, व्यक्तिका कमजोरीको आड, धर्मको आड, जातपातको आड, राजनीतिको आड र देशका शासकको आड लिएर व्यापार नै गर्ने हो, उसको अरु नियत हुँदैन । तर ती व्यापारीको नियतको गोलचक्करमा आफू पर्ने वा नपर्ने व्यक्तिको इच्छाको कुरा हो । अहिले हजारौँ, लाखौँ नेपालीहरु बुझेर वा नबुझेर विनोद चौधरीको घनचक्करमा परिरहेका छन् । सांसद हुनका लागि कहिले कम्युनिष्ट त कहिले काँग्रेसको ढोकामा पुग्ने चौधरीले व्यापार विस्तार गर्नका लागि धर्मको आडमा तहल्का पिटिरहेका एकजना विवादास्पद पात्रलाई उभ्याइदिएका छन्, जसले घृणा फैलाइरहेको छ, समाजलाई असहिष्णु हुन सिकाइरहेको छ, मान्छेमा भ्रम छरिरहेको छ । हुन त नेकपा एमाले र माओवादी केन्द्रजस्ता देशका ठूला कम्युनिष्ट पार्टीका अध्यक्षहरु नै धर्म राजनीतिमा लागेको बेला विनोद चौधरीले धर्म व्यापार गर्नु त्यति ठूलो कुरा भएन । तर केपी शर्मा ओली, प्रचण्ड र विनोद चौधरीहरुको धर्म राजनीति वा धर्म व्यापारले दुरगामी प्रभाव पक्कै पार्नेछ, यो चिन्ताजक छ ।

भारतमा धेरै बाबाहरु विवादमा आउने गर्छन् । कोही राजश्व छलीमा, कोही कालो धन सञ्चितीमा, कोही बलात्कारमा, कोही लागुपदार्थ ओसारपसारमा, कोही यौन दुराचार र सामाजिक व्यभिचारमा मुछिएका छन् । तीमध्ये केहि बाबाहरु अहिले भारतको जेलमा छन् । बागेश्वर धाम बाबा अहिले मानिसका समस्या समाधान गरिदिने ‘चमत्कारी बाबा’को रुपमा परिचित छन् । उनले आफ्नो ‘माइन्डरिडिङ क्षमता’ प्रयोग गर्दै लाखौँ मानिसहरुलाई अनुयायी बनाएका छन् । केहि व्यक्तिमा औसत मानिसहरुभन्दा फरक क्षमता हुन्छ, जसले सो विषयमा खोज, अनुसन्धान र मेहनत/अध्ययन गरेपछि आफ्नो खुबी बढाउँछन् । बागेश्वर धाम बाबाले त्यसै गरे ।

बागेश्वर धाम बाबा हिन्दु धर्म अंगिकार गर्ने बाहेक मान्छेहरुलाई मानिस नै गन्दैनन् । हिन्दु धर्मविरोधीको घरमा डोजर चलाउनुपर्छ भन्छन् । दलित, मुस्लिम, शिखहरुलाई उनले हेर्ने नजर मानवीय छैन । अछुत जातको व्यक्ति भन्दै आफ्नो चरण स्पर्श गर्न आउने व्यक्तिलाई दुत्कार्छन् । खुल्लमखुल्ला छुवाछुतको अभ्यास गर्छन्, सिन्दुर पोते नलगाउने महिला महिला नै होइन भन्दै महिलाको अस्मितामाथि प्रहार गर्छन् । सन् २०१८ मै दुई जना महिलामाथि यौन दुव्र्यवहार गरेपछि विवादमा आएका उनले ‘कालो म्याजिक’को आडमा करोडौँ कमाइरहेका छन् । आफ्नो आश्रममा आउने व्यक्तिहरुको दिमागी हाल पढेर समस्या समाधान गरिदिन्छु भनेपनि उनका बाचा पुरा नभएको भन्दै धेरै व्यक्तिहरु मिडियामा आइरहेका छन् । वाक कला र धाराप्रवाह बोल्न सक्ने आफ्नो खुबी प्रयोग गरेर उनले मानिसहरुमाझ अन्धविश्वास फैलाइरहेका छन् । यतिसम्मकी उनले एउटै पात्रलाई देशका विभिन्न ठाउँमा लगेर ‘भुत/प्रेत चढेको’ नाटक गर्न लगाएका भिडियो समेत सार्वजनिक भएका छन् । (हेर्नुहोस् यो भिडियो: https://www.youtube.com/watch?v=9RsPcSQxkDw&t=160s)

आस्था हुनु र अन्धविश्वास हुनु फरक कुरा हो । असल विचार, असल वचन, असल कर्म र असल जीवनयापन कुनैपनि धर्मप्रति आस्थावान् व्यक्तिको लक्षण हुन सक्छन् । तर अन्धविश्वासले विद्वेष फैलाउँछ, समाजिक घृणा फैलाउँछ, पछौटेपन बढाउँछ, चेतना र विवेकमा विर्को लगाउँछ । त्यहि अन्धविश्वास फैलाउन उद्यत छन् बागेश्वर धाम बाबा । विज्ञानले विश्वलाई चमत्कारिक युगमा पुर्याइरहेको परिप्रेक्ष्यमा धर्मको आडमा आफ्नो धुर्त्याँई छाँट्ने र धन बटुल्नेहरुको कमी छैन । हिन्दु धर्म र भगवानप्रति आस्थावान व्यक्तिहरुको मनोविज्ञानलाई हतियार बनाउँदै बागेश्वर धाम बाबाले पनि धुत्याँई प्रयोग गरिरहेका छन् र करोडौँ कुम्ल्याइरहेका छन् । भारतको मध्यप्रदेशमा मुस्लिमहरुको घरमा डोजर आतंक मच्चाइएको घटना होस् या मणिपुरमा हिन्दु मुसलमानबीच भड्किएको हिंसा होस्, यसलाई उनले सदर गरेका छन् ।

उनका अभिव्यक्ति, उनको नियत, उनको व्यवहार र उनको उद्देश्य हेर्दा उनी अहिलेसम्म पक्राउ परिसक्नुपर्ने हो तर धर्मको राजनीति गरिरहेको पार्टी भाजपा नै भारतको शासक भएको हुनाले बागेश्वर बाबालाई यी सबै काम गर्न छुट छ । भारतलाई हिन्दु राज्य बनाउन नरेन्द्र मोदीका सारथी बनेका बागेश्वर बाबाका कर्तुत मोदी सरकार रहेसम्म जारी रहनेछन् । मान्छेलाई भ्रम एकदमै प्यारो लाग्छ, तर भ्रमको पर्दा उघारिएको दिन पुर्पुरोमा हात लगाउनु सिवाय अरु विकल्प हुँदैन । त्यसैले बागेश्वर धाम बाबाका क्रियाकलाप भारतमा छुट भएपनि नेपालमा छुट हुनु हुँदैन । उनी जस्ता व्यक्तिको आगमनले देशको पर्यटनमा टेवा त पुग्न सक्ला तर यो क्षणिक हो । बरु यसले धार्मिक र सामाजिक रुपमा मिलेर बसेको समाज भाँड्ने छ, मणिपुरको घटना दोहोर्याउन मद्दत पुग्नेछ ।

बागेश्वर धाम बाबाको कार्यक्रममा जानै हुँदैन वा प्रवचन सुन्नै हुँदैन भन्ने होइन, जानुपर्छ, उनका प्रवचनले मनमा शान्ति र मुहारमा कान्ति मिल्छ भने सुन्नु पनि पर्छ तर उनका समाज, धर्म र जातिसँग जोडिएर आउने ‘वाणीहरु’लाई एक कानले सुनेर अर्को कानले उडाउनुपर्छ । किनकी चलचित्र ‘पीके’मा आमीर खानले भनेझैँ उनी देव दुत होइनन्, उनी समाजमा अर्को गलत नम्बर (Wrong Number) फैलाउने पात्र मात्र हुन् ।

फेरि एकपटक राजस्थानको घटना सम्झिउँ त, बागेश्वर धाम सरकारले पक्कै त्यो घटनालाई सहजै लिए होलान् र खुच्चिङ भने होलान् किनकी उनमा मानवीयता कम छ र उनी हिन्दु बाहेकका घरमा बुल्डोजर चलाउनुपर्ने तर्क गर्छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?