कम चर्चा पाएको महिला विश्वकप – स्पेन बन्यो च्याम्पियन (तस्बिरहरु सहित)

साझा कथा । फिफा विश्वकप (पुरुष) हुँदो हो त अहिले अवस्था अर्कै हुने थियो । घरघरमा चर्चा हुन्थ्यो । केटाकेटीदेखि वयस्कसम्मको अधिकाँश कुरा विश्वकपमा केन्द्रित हुन्थ्यो । फाइनल खेलपछि टोलटोलमा विजय जुलुस निस्कन्थ्यो । तर आइतबार सम्पन्न भएको महिला विश्वकपमा धेरैको रुची भएन ।

पुरुष फुटबलजस्तो यो खेलले न संचारमाध्यममा चर्चा पायो, न त टोलटोलमा यसका समर्थक टिम बने । २०१० को फिफा विश्वकप स्पेनले जितेको थियो, त्यसबेलाको रौनक वेग्लै थियो, स्पेनको पक्षमा धेरै टिम बने, मैत्रीपूर्ण फुटबल खेले, विश्वकप जितेपछि स्पेनको पक्षमा विजय जुलुस पनि निस्कियो । आइतबार इङ्ग्ल्यान्डलाई हराउँदै उही स्पेनले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ को उपाधि जित्यो । उही देशले उस्तै प्रकृतिको उपाधि जित्दा भने सुनसान छ । महिला फुटबलप्रति मानिसहरुले वेवास्ता गरे वा कम चासो दिए । यो वेवास्ता नेपाल मात्रै होइन, विश्वका अधिकाँश देशमा देखिएको छ । विश्वस्तरका संचारमाध्यममा पनि महिला विश्वकपको विषयले धेरै स्पेस पाएन ।

आइतवार स्टेडियम अस्ट्रेलियामा भएको फाइनलमा स्पेनले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । स्पेनका लागि ओल्गा कारमोनाले खेलको २९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । स्पेनले एउटा पेनाल्टी पनि पाएको थियो तर गोल गर्न भने सकेन । स्पेन महिला विश्वकपमा पहिलो पटक च्याम्पियन बनेको हो । दुवै टिम पहिलो पटक फाइनल पुगेका हुन् ।

इङ्ग्ल्यान्ड आयोजक अस्ट्रेलियालाई हराउँदै र स्पेन स्विडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेका थिए । हिजो शनिवार तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको यो महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?