यस पटक अकबरेको फल नै बिक्री गर्नेकि बियाँ बिक्री गर्ने, सूर्योदय नगरपालिका –१२ का किसान मदन राई दोधारमा छन् । राईले उत्पादन गरेको अकबरे फल र र बियाँ दुवैको माग उत्तिकै छ । गतवर्ष ४३ किलो अकबरेको बियाँ बीउका लागि तयार गरी बिक्री गरेका राईसँग यो वर्ष ८० किलो बियाँ बीउको माग आएको छ । ‘मागअनुसारको बीउ तयार गर्न त सम्भव नै छैन’ राईले भने, “अहिले फल अर्थात् दानाको माग पनि उत्तिकै छ । अब दाना बिक्री गर्ने कि बीउ भन्ने दोधारमा छु ।”
राईले गतवर्ष ४३ किलो बीउ उत्पादन तथा बिक्री गर्नुभएको थियो । ‘७२ किलो बीउको माग आएको थियो । विदेशबाट पनि चार किलो माग आएको थियो । तर मागअनुसार उत्पादन गर्न मुस्किल छ’ राईले भने, ‘पूर्ण अर्गानिक उत्पादन हुनेगरेकाले होला, यहाँको अकबरे धेरैले रुचाउने गरेका छन् ।’
दश हजारभन्दा बढी वबिवा टनेलमा खेती गर्नुभएका राईले यो वर्ष करिब ७० क्विन्टल अकबरे उत्पादन हुने अपेक्षा रहेको बताए । यो वर्ष कम्तीमा पनि १०–१२ लाख रुपियाँ आम्दानी हुने अनुमान उनको छ ।
‘अहिले नै अकबरे दाना प्रतिकिलो ३५० रुपियाँमा बिक्री हुन्छ, कात्तिक–मङ्सिरतिर प्रतिकिलो पाँचसय रुपियाँ पुग्छ । यस वर्ष इलामको कुनै किसानलाई पनि अकबरेले घाटा लगाउँदैन’ उनले भने, ‘अबको साता दिनपछि अकबरे टिप्ने काम सुरु हुन्छ ।’
गतवर्ष अकबरेको बियाँ २० हजार रुपियाँ प्रतिकिलोदेखि ४५ हजार रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको सुनाउँछन् किसानहरु । ‘ए, बी, सी गरेर तीन ग्रेडका बीउ तयार गरिएको छ ।
वर्षौंदेखि अकबरे खेती गर्दै आएका राईले आफ्नो खेतीमा विशेषगरी गाईको गोबर मल, गहुँत निमको पिना, हड्डीको धुलो, आफैंले उत्पादन गरेको गँड्यौले मल प्रयोग गरिरहेका छन् । दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्ने गरेको राईले बताए । यसो गर्दा खोर्सानीलाई विषादी प्रयोग गर्नै पर्दैन, अर्गानिक उत्पादनको मूल्य नै फरक पर्छ ।
माइजोगमाई गाउँपालिका – ५ का किसान महेन्द्र चापागाईंले पनि यो वर्ष अकबरे खेती गरेका छन् । करिब पाँचसय बोटमात्र अकबरे लगाएका चापागाईंले कम्तीमा दश क्विन्टल अकबरे उत्पादन हुने अपेक्षा राखेका छन् । ‘अहिलेसम्मको फलाइ हेर्दा राम्रो छ । कुनै रोग देखिएको छैन । अब केही दिनमा टिप्न तयार हुन्छ’ चापागाईंले भने, ‘मल पानी सबै मिलाउन सक्दा र मौसमले साथ दिंदा थोरै लगानीमा पनि अकबरेबाट आम्दानी राम्रै हुँदोरहेछ, अहिले अकबरेको बजार राम्रो छ ।’
चापागाईंसहित सोही गाउँका मनोज खत्री, बीरबहादुर राईले पनि अकबरेको खेती गरिरहेका छन् । अहिलेकै बजारमूल्य प्रतिकिलो ३५० पुग्दा किसानहरु खुशी छन् । जिल्लाको पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दैआएका छन् । जिल्लाको १ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदैआएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।