साझा कथा । आफ्नै बारीमा फलाएको ताजा तरकारी आफैले डोकोमा बोकेर हरेक दिन दुई किलोमिटरको दुरी पार गर्दै म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्की बजारमा पुग्ने गर्छिन् । बजार पुगेपछि उनी लगेको तरकारी बेनी बजारमा बेच्ने गर्छिन ।
प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्याएर बिक्री गर्नेकार्य उनको दैनिकी नै बनिसकेको छ।
हातमा सीप भएकी उनले मौसमअनुसार तरकारी खेती गर्ने गर्छिन्। दैनिक कति किलो तरकारी बिक्री हुन्छ भन्ने बारे तेति चासो उनलाई हुदैन् र त्यसको कुनै हिसाब पनि छैन छैन उनीसँग। “आफ्नै बारीमा फलाएको तरकारीको के हिसाब राख्नु र ? बारीबाट टिप्यो, डोकोमा हाल्यो, भोलिपल्ट बिहानै बजार ल्यायो, बेच्यो, सिद्धियो” मुस्कुराउदै, कार्कीले भनिन्, “अन्तबाट खरिद गरेर बेच्ने भए पो यति किलो खरिद गरेँ भन्ने हिसाब हुन्छ। यी सबै आफ्नै बारीमा फलाइएका हुन्।” हिसाबकिता केलाई चाहियो नि मलाई
कार्कीले १० वर्षदेखि यसैगरी डोकोमा बोकेर तरकारी बेच्दै आएकी छिन्। बेनी बजारमा उनलाई ‘तरकारी आमै’ भनेर चिन्ने र बोलाउने गरेका अनुभव सुनाइन्। प्रत्येक बिहान बेनी बजारका घरघरमा तरकारी पुर्याउने कार्कीले दैनिक एक डोका तरकारी बिक्री गरेर दुई हजारदेखि तीन हजारसम्म कमाउने गरेको बताइन्। उनका अनुसार गत जेठदेखि साउनको तेस्रो सातासम्म बर्खे तरकारी बेचेर रू दुई लाख बढी कमाइ भएको छ।
मौसम अनुसारका तरकारी बढी बिक्री गरे पनि साग र धनियाँ भने कहिल्यै नछुट्ने कार्कीले बताइन्। “दैनिक थोरै भनेको दुई हजार आम्दानी हुन्छ। प्रायः तीन हजार पाँचसयसम्म भइरहन्छ। उनले भनिन्।
तरकारीबाट कमाएको पैसाले कार्कीले म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलमा चारतले पक्की घर बनाइन्। कार्कीका पति चन्द्रबहादुर र छोरा नारायणले गाउँमा नै तरकारी खेती गछन्। चन्द्रबहादुर जिल्लाकै अगुवा कृषक हुन्।