दहचोकको सेरोफेरो (फोटो कथा)

साझा कथा । काठमाडौंको कलंकीबाट ६ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको दहचोक प्राकृतिक सौन्दर्यका हिसाबले सुन्दर र आकर्षक ठाउँ हो । चन्द्रागिरि नगरपालिका – १ मा पर्ने दहचोकबाट काठमाडौं उपत्यकाको मनोरम दृश्यसँगै धादिङतर्फका डाँडापाखा र खोल्साखोल्सी हेर्दा मन आनन्दित हुन्छ । यो ठाउँ प्राकृतिक दृष्टिले मात्रै महत्वपूर्ण छैन, पौराणिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले पनि यसको महिमा उत्तिकै महत्वपूर्ण छ । समुन्द्री सतहबाट २३७० मिटरको उचाइमा रहेको दहचोकमा काजी कालु पाँडेको समाधीस्थल छ, जसले गर्विलो इतिहास बोकेको छ ।

नेपाल सरकारले पर्यटकीय सम्भावना बोकेका १०० स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ । यसै अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गरिने सय नयाँ पर्यटकीय गन्तव्यमध्ये दहचोकलाई पनि छनोट गरेको छ । दहचोकको सबैभन्दा अग्लो भागमा इन्द्रदह अवस्थित छ । किर्तिपुरमा पृथ्वीनारायण शाहको पहिलो आक्रमणका बेला किर्तिपुरमा मारिएका कालु पाँडेलाई गोरखा जिल्ला देख्न सकिने ठाउँमा समाधि (मृत शरीर गाड्ने) गर्नका लागि दहचोक छनौट गरिएको भनाई छ ।

राजधानीको धुलो, धुवाँ, भीडभाड र सहरी जीवनबाट क्षणभरका लागि मात्रै भए पनि प्राकृतिक दृश्यलगायत स्वच्छ हावा र वातावरणको आनन्द लिन चाहने जो कोहीका लागि दहचोक क्षेत्र निकै आकर्षक र रमाइलो छ । सफा प्राकृतिक वातावरणको मजा लिने छोटो पदयात्राका लागि पनि दहचोक महत्वपूर्ण गन्तव्य बनेको छ ।

तस्बिरहरुः प्रकाश गोपाली/साझा कथा 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?