साझा कथा । केन्द्र सरकारबाट बाहिरिएपछि नेकपा एमालेले २ महिने ‘मिसन ग्रासरुट अभियान’ सञ्चालन गर्यो । देशैभर पार्टीका केन्द्रीय नेताहरु पुगे । पार्टी विभाजनपछि स्थानीय स्तरसम्म त्यसको असर अध्ययन गर्न, माओवादीसँगको एकता र विभाजनसँगै पार्टीभित्र परेको प्रभाव विश्लेषण गर्न र पार्टीका आन्तरिक समस्या पहिचान गर्न सञ्चालन गरिएको सो अभियानबाट एमालेले केहि निश्कर्षहरु निकालेको छ । पार्टी नेतृत्वको कार्यशैली, प्रदेश कमिटि र जिल्ला कमिटि हुँदै स्थानीय कमिटि र त्यसमा रहेका नेता कार्यकर्ताहरुको व्यवहारबारे समेत अध्ययन गरिएको सो अभियानका विभिन्न निश्कर्ष आएका छन् । स्रोतका अनुसार सो अभियानले अध्यक्ष केपी ओलीका कमजोरी र समस्याबारे पनि उजागर गरेको छ ।
पार्टी अध्यक्ष ओली लक्षित ‘मिसन ग्रासरुट’ले देखेको ७ समस्या के के हुन् त ?
१. पार्टी पंक्तिसँग सल्लाह नै नगरी माओवादीसँग एकता
अभियानका दौरान कार्यकर्ताहरुले पार्टी अध्यक्षको कार्यशैली, कामकारबाहि र वैचारिक तथा संगठनात्मक कमजोरी समेत औँल्याएका छन् । कार्यकर्ताहरुले माओवादीसँग एकता गर्नु मूलभुत रुपमा सही भएपनि अपनाइएको प्रक्रियाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । यस विषयमा पार्टी नेतृत्वको हिसाबले ओलीको कडा आलोचना गरिएको छ । केहि सिमित नेताबाहेक अरुलाई जानकारी नै नदिई पार्टी एकता गर्नु नेतृत्वको मूल कमजोरी भएको उनीहरुले बताएका छन् । माओवादीसँग तमाम सैद्धान्तिक, वैचारिक, सांंगठनिक र नीतिगत भिन्नता हुँदाहुँदै अप्रत्यासित रूपमा पार्टी एकीकरण गरेपछि पार्टीमा सांगठनिक अलमल, सुस्तता र अराजकता बढेको उनीहरुले निश्कर्ष सुनाएका छन् । पार्टी एकता र विभाजनपछि त सबैजसो नेता–कार्यकर्ताहरू पार्टी र संगठनको काममा भन्दा नेतृत्व वर्गको आसपास रहने र चाकरी–चाप्लुसी गरी नेता बन्ने ध्याउन्नमा लाग्दा पार्टीका काम लथालिङ्ग र भताभुङ्ग बनेको उनीहरुको बुभाई छ ।
२. असंवेदनशील नेतृत्व
एमालेका कार्यकर्ताहरुले पार्टी नेतृत्व भन्दै केपी ओली लक्षित गरेको अर्को आलोचना हो, असंवेदनशीलता । ओलीले राजनैतिक तथा सामाजिक हरेक विषयमा हलुका टिप्पणी गर्ने र धेरै विषयको संवेदनशीलता नबुझिकन बोल्ने र सोही अनुसार व्यवहार गर्दा पार्टीमा गम्भीर समस्या आएको कार्यकर्ताहरुको बुझाई छ । केही वर्षयता पार्टी शृङ्खलाबद्ध रूपमा हार र पराजय भोग्दै संघ र प्रदेश सरकारबाट बाहिरिंदा पनि नेतृत्व संवेदनशील बन्न नसकेको उनीहरुको आरोप छ । साथै अन्तरपार्टी सम्बन्धका बारेमा पनि ओली संवेदनशील नबनेको र कुटनैतिक चातुर्यता नदेखाएको कार्यकर्ताहरुको बुझाई छ । अन्य पार्टी तथा निकायसँग उचित कूटनीतिक पहल र रणनीतिक समन्वय गर्न नसक्दा पार्टी चारैतिरबाट एक्लिंदै गएको उनीहरुले बताएका छन् । चौतर्फी घेराबन्दीका कारण एक्लो हुँदा पनि पार्टी नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा कुनै परिवर्तन नदेखिएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
३. वैचारिक अस्पष्टता र आचरण
एमालेका कार्यकर्ताहरुले पछिल्लो समय पार्टी नेतृत्वबाट पार्टीको मार्गनिर्देशक सिद्धान्त (मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद) को सटिक र सारभूत व्याख्या एवम् विश्लेषण गर्न नसकेको र कतिपय केन्द्रीय सदस्यहरु त यसको विश्लेषण गर्न असक्षम रहेको बताएका छन् । सैद्धान्तिक र वैचारिक कुरा भन्दा हलुका टिप्पणी र विपक्षीको आलोचनामै समय खर्चिदाँ कार्यकर्ताहरुमा नेतृत्वको बचाउ गर्न समेत कठीन भएको कार्यकर्ताहरुको गुनासो छ । यसले नेतृत्वमा वैचारिक अस्पष्टता रहेको र सत्ताकेन्द्रित राजनीति मात्रै गरिरहेको उनीहरुको बुझाई छ ।
४. काखा र पाखा गर्ने प्रवृत्ति
एमालेका स्थानीय स्तरका नेता कार्यकर्ताले पार्टी नेतृत्वले काखा र पाखाको व्यवहार देखाउँदा पार्टीभित्र गम्भीर समस्या उत्पन्न भएको बताएका छन् । केहि सिमित नेता, बुद्धिजिवि र माफियाहरुको घेराबन्दीमा नेतृत्व पर्दा पार्टीले अतुलनीय क्षति व्यहोर्दै गएको कार्यकर्ताको गुनासो छ । पार्टीका इमान्दार नेता कार्यकर्तालाई सौतेनी व्यवहार देखाएको र नयाँ प्रवेशीलाई अनावश्यक ठाउँ दिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् । केहि नेतालाई अस्वभाविक रुपमा काखी च्याप्ने र केही नेता कार्यकर्ताप्रति पूर्वाग्रह साँध्ने काम नेतृत्वबाट भएको भन्दै कार्यकर्ताहरुले रोष प्रकट गरेका छन् । साथै देशका बौद्धिक जगत र प्रबुद्ध वर्ग एमाले नेतृत्वसँग चिढिएका कारण उनीहरूको साथ, समर्थन र सद्भाव पाउन नसकेको र कतिपय नेताको आचरण, नैतिकता, व्यवहार कार्यक्षमतामा नै प्रश्न उठिरहँदा पनि नेतृत्व मौन बसिदिंदा कार्यकर्तामा असन्तोष र निराशा छाएको उनीहरुले बताएका छन् ।
५. नेतृत्वको केन्द्रीकरण र अवसरवाद
‘मिसन ग्रासरुट अभियान’का दौरान एमाले कार्यकर्ताहरुले नेतृत्व लक्षित गरेको अर्को आलोचना हो केन्द्रीकृत मानसिकता र अवसरवाद । नेतृत्वमा रहने व्यक्ति अर्थात केपी ओलीले आफू नै सर्वेसर्वा भएको ठान्ने, आफूले सबैथोक जानेको ठानेको र अरुको कुरालाई स्वीकार नगर्ने, नेतृत्वको केन्द्रीकरण गर्न रुचाउने, सामुहिक नेतृत्वमा जान इच्छा नदेखाउने गरेको आरोप लगाएका छन् । साथै नेतृत्वबाट अचानक गरिने निर्णय, फेरिने समीकरण र नयाँ परिस्थितिबारे पार्टीमा अवगत नगराउने प्रवृत्तिले आफ्नो पार्टीको मुख्य उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिका बारेमा नेताहरू नै अलमल र अनभिज्ञ हुनुपर्ने परिस्थिति बनेको उनीहरुको गुनासो छ । यस्तै पार्टीमा दक्षिणपन्थी अवसरवाद, संंकीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको संघर्ष लोप भइसकेको कार्यकर्ताको बुझाई छ ।
६. कम्युनिष्ट आचरणको कमी
सबैजसो नेता–कार्यकर्तामा कम्युनिस्ट आचरण, विचार, सिद्धान्त र व्यवहारको आदर्श समाप्त हुँदै गएको छ । त्यसमा अझ बढी नेतृत्वको हिसाबले ओलीले देखाउनुपर्ने कम्युनिष्ट चरित्र आश्चर्य पर्ने खालेको रहेको उनीहरुले बताएका छन् । कार्यकर्ताहरुले ओलीले पछिल्लो समय देखाएको धर्मअनुराग र धर्म राजनीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । यस्तै उनीहरुले पार्टीभित्र कम्युनिस्ट सिद्धान्त, क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याको चिन्तन हराउँदै गएको र त्यसमा नेतृत्वले आँखा चिम्लिएको गुनासो गरेका छन् ।
७. नेता कार्यकर्ताको मूल्यांकनमा मनलाग्दी
‘ग्रासरुट अभियान’को दौरान एमालेका नेताहरुले कार्यकर्तातहमा देखेको असन्तुष्टि हो, नेता कार्यकर्ताको मूल्यांकन । यसमा नेतृत्वले मनलाग्दी गरेको उनीहरुको बुझाई छ । नेता कार्यकर्ताको योगदान, कामको समीक्षा र मूल्यांकन संस्थागत रूपमा हुन छोडेको, पार्टीमा योगदान गरेका, योग्यता र क्षमता भएकालाई भन्दा नेताहरूको चाकरी गर्नेहरूलाई अवसर दिने गरिएको उनीहरुले गुनासो गरेका छन् । पार्टीका असली संगठक, लगनशील, प्रतिबद्ध र इमानदार कार्यकर्ताहरू पछि पारिएको र गुन्डा, डन, दलाल र अवसरवादीहरू पार्टीमा हावी भएको कार्यकर्ताहरुको मूल्यांकन छ । यसले गर्दा पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गएको भन्दै उनीहरुले नेतृत्वले गम्भीर ढंगले सोँच्नुपर्ने बताएका छन् ।