साझा कथा । भारतको मणिपुरमा भड्किएको साम्प्रदायिक हिंसाका कारण १०० जना भन्दा बढीको मृत्यु भइसकेको छ, ४०० बढी घाइते छन् । झण्डै ६० हजार मानिस विस्थापित भएका छन् । राज्यका मैतेई समुदाय र कुकी समुदायबीच फैलिएको हिंसा नियन्त्रण गर्न ४०,००० सुरक्षाकर्मी परिचालित छन् । भिडले प्रहरीबाट ४,००० वटाभन्दा बढी हतियार लुटेको छ । भिडले २०० वटाभन्दा बढी गिर्जाघर र १७ वटा मन्दिरमा क्षति पुर्याएका छन् । राज्यका मन्त्री र विधायकहरूका घरमा आक्रमण र आगजनी भएको छ । जनजीवन अस्तव्यस्त छ । रात्रिकालीन कर्फ्यू लगाइएको छ, विद्यालयहरू बन्द छन् र इन्टरनेट सेवा पनि अवरुद्ध छ ।
प्रदर्शनकारीहरूले सामान आपूर्ति गर्न प्रयोग हुँदै आएको एउटा मुख्य राजमार्ग बन्द गरिदिएका छन् । युद्धविरामको मध्यस्थता गर्नका लागि सङ्घीय सरकारले शान्ति समिति बनाउन गरेको प्रस्तावप्रति कोही उत्साहित देखिँदैनन् । मणिपुरको इतिहासमा यो सबैभन्दा अँध्यारो क्षण हो, नर्थईस्ट इन्डिया विमिन इनिशियटिभ फर पीससँग आबद्ध बीनालक्ष्मी नेप्रमले भनेकी छन् ।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । यो राज्यमा विविधता छ, अनि चर्को विभाजन पनि । त्यहाँ झन्डै ४० वटा विद्रोही समूहहरू सक्रिय छन् । मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् । आफ्ना लागि छुट्टै राज्यको माग गर्दै मैतेई, नागा र कुकी लडाकुहरूले एकअर्कासँग लडाइँ पनि गरेका छन् । मणिपुरको अनुमानित जनसङ्ख्या ३३ लाख छ । त्यसमध्ये आधाभन्दा बढी मानिस मैतेई समुदायका हुन् । कुकी र नागा समुदाय दुवैको जोड्दा तिनको जनसङ्ख्या ४३ पुग्छ । ती दुई जनजाति समुदाय पहाडी भेगमा बस्छन् । अधिकांश मैतेईहरू हिन्दू हुन् भने अधिकांश कुकीहरू इसाई धर्म मान्छन् ।
मे महिनामा ठूलो हिंसा भड्कियो । मैतेई समुदायले आफूलाई पनि जनजाति (ट्राइबल) को मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले त्यसको विरोध गर्दा तनाव चर्किएको थियो । तर मणिपुरमा विस्फोटक रूपमा साम्प्रदायिक हिंसा फैलिनु त्यो मात्र एउटा कारण हैन ।
लामो समयदेखि चलिरहेको विद्रोह, लागुपदार्थविरुद्ध चालिएको एउटा विवादास्पद अभियान, सीमापारि म्यान्मारबाट हुने अवैध आप्रवासन, जमिनका लागि हुने खिचातानी, रोजगारीका लागि कम अवसरजस्ता विभिन्न कुराको जटिल जालोसँग त्यहाँको तनाव सम्बन्धित छ ।
लागुपदार्थ कारोबारमा राजनीतिकर्मीहरूको संलग्नता तथा राजनीतिकर्मी र विद्रोहीहरूबीच विद्यमान सम्बन्धका कारण त्यहाँको अस्थिरता अझ बढेको विज्ञहरूले औँल्याएका छन् । मणिपुरमा भारतीय जनता पार्टीको सरकार छ ।
मणिपुरमा जमिनका लागि ठूलो खिचातानी छ । राज्यको ६० जनसङ्ख्या राज्यको राजधानी भएको इम्फाल उपत्यकामा बसोबास गर्छ । आफू र जनजातिको मान्यता नपाएका अन्य मानिसले पहाडी जिल्लाहरूमा जग्गा किन्न र त्यहाँ बसोबास गर्न नपाउने भएकाले मैतेईहरू असन्तुष्ट छन् । त्यति मात्र हैन । राज्यमा भएका दुइटा पहाडको स्वामित्वबारे पनि मैतेई र कुकीबीच विवाद छ । मैतेईहरूले उक्त पहाडलाई पवित्र पर्वत मान्छन् भने कुकीहरू त्यहाँको जमिन आफ्नो पैतृक सम्पत्ति भएको र अहिले अरूले खोस्न खोजेको ठान्छन् । विगत पाँच वर्षदेखि ती दुई समुदायबीच शत्रुता बढेको छ। केही आस्था र परम्परा र केही अतिक्रमणसँग सम्बन्धित छ ।
हिंसाबारे जानीजानी मौन बसेको भन्दै अहिले त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यापक आलोचना भइरहेको छ । यहिबेला कुकीहरुले आफ्नो राज्यमा दिल्लीको प्रत्यक्ष शासन हुनुपर्ने माग राख्न थालेका छन् । आफ्नो समुदायका लागि छुट्टै प्रशासन होओस् भन्ने उनीहरूको चाहना छ । नागा समुदायले पनि त्यस्तै माग राख्न सक्ने सम्भावना छ । तर मैतेई समुदाय यो मान्ने पक्षमा छैन । दिल्लीले हस्तक्षेप गरे त्यहाँ झन् ठूलो समस्या निम्तने सक्ने खतरा औँल्याइएको छ ।