विदेशमा नेपाली अराजकता, प्रकाश सपुतमाथि बोतल प्रहार, प्रकाशले दिए माफी

साझा कथा । केहि दिन अघि युरोपियन सहरहरुमा मादक पदार्थ सेवन गरेका नेपाली युवाहरुले अराजकता देखाएको भन्दै पोर्चुगल लगायतका मुलुकका संचारमाध्यमले भिडियोसहितको समाचार सम्प्रेषण गरेका थिए । यसअघि जापान कन्सर्टमा र्‍यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए । विदेशी भूमिमै फेरि अर्को अराजकताको घटना बाहिर आएको छ ।

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार आइतबार मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको र आधा घण्टा कार्यक्रम प्रभावित भएको जनाइएको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए । उनले बोतल प्रहार गर्ने व्यक्तिलाई माफी दिएका छन् र सम्भव भएसम्म भेट्न आग्रह पनि गरेका छन् ।

याद नेपाली म्युजिक फेस्टिभल भाग–२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी छन् । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । बोतल प्रहारको घटनालाई लिएर नेपालमा आमनागरिक तथा संगीतकर्मीले विरोध गरिरहेका छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?