शवस्थलमा राखिएको छोरोलाई जिवितै भेटेपछि..

साझा कथा । मृतक भनेर शवस्थलमा राखिएको आफ्नै छोरोलाई जिवितै भेटाउँदा एउटा बुबाको मन कस्तो हुन्छ होला ? उनले आफूलाई सम्हाल्न सक्छन् होला ? यस्तै घटना भएको छ भारतमा । केहि दिनअघि भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा सयौँको हताहती भयो, सयौँ घाइते छन् । दुर्घटनाग्रस्त रेलका एकजना यात्रु थिए विश्वजीत मलिक । जसलाई सो घटनामा मृतक भनी शवस्थलमा राखिएको थियो । पछि उनका बुबा त्यहाँ पुगे, तर उनले आफ्नो छोरोलाई मुर्दाघरमा जिवितै फेला पारे ।

आफ्नो छोराको मृत्यु भएको विश्वास नलागेर कोलकाताबाट २३० किलोमिटर यात्रा गरी एम्बुलेन्समा ओडिशाको बालासोर पुगेका व्यक्तिले आफ्नो छोरा जिवितै फेला पारेका हुन् । उनी हुन् हेलाराम मलिकले जो २४ वर्षीय विश्वजित मलिकका बुबा हुन् । हेलाराम बहनगा हाईस्कुलमा रहेको अस्थायी शव स्थलमा जब पुगे, गम्भीर घाइते भएर चरम दुखाईको अवस्थामा रहेको आफ्नो छोरो फेला पारे जसलाई प्लाष्टिकले छोपेर राखिएको थियो, मृतकहरुको लाइनमा ।

त्यसपछि उनले आफ्ना छोरालाई अस्पताल लगेर पुनर्जीवित गरी थप उपचारका लागि कोलकाता लगे । आइतबार एसएसकेएम अस्पतालको ट्रमा केयर युनिटमा शल्यक्रिया गरेका विश्वजितको मंगलबार अर्को चरणको शल्यक्रिया गरिएको बताइन्छ । गम्भीर घाइते भएपनि अहिले उनको अवस्था स्थिर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?