टिकटक त बन्यो तर तालको विजोग हुँदैछ..

साझा कथा । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । जलकुम्भीले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकोमा चिन्ता बढेको छ ।

भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योती मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भिमलाल चापागाईँले वनभित्र रहेको ‘किङ फिसर’ तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको जानकारी दिए । “दैनिक करिब आठ सयसम्म पर्यटक यहाँ आउने गरेका छन् । यो भीड दुई सातादेखि बढेको हो”, उनले भने ।

पहिले फाट्टफुट्ट आउने भएपनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको हो । दैनिक विहान १० बजेदेखि पाँच बजेसम्म ताल क्षेत्रमा प्रवेश खुल्ला गरिएको छ । तालमा पुग्ने पर्यटक जलकुम्भीको फुल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर केहीले फूलसहितका जलकुम्भी लैजान्छन् पनि ।

अध्यक्ष चापागाईंका अनुसार वन प्रवेश गरेको एक जनासँग २५ रुपैयाँ लिने गरिएको छ । पर्यटक धेरै आउँदा आम्दानी भएको बताउँदै उनले तालमा जलकुम्भी फैलदा र फुल्दा ताल सुक्ने चिन्ता पनि बढेको बताए । पानी बग्ने क्षेत्रमा भन्दा जमेका पोखरीमा जलकुम्भी धेरै फैलिएको र ताल पूरै ढाकेको छ।

पानीको सतह कम भएकाले मानिस तालमा जाने सक्ने अवस्था छ । जलकुम्भीका फुल पहिले पनि फुल्थ्यो । अहिले फुल टिप्ने र टिकटक बनाउने प्रचलन निकै बढेको छ । जलकुम्भीले ताललाई विनास गरेको भन्दै सरोकारवालाहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सृजना गर्ने बताए । उनले भने, “यसले तालतलैया सुकाउँदै छ । जहाँत्यही यसको समस्या छ । यसलाई आउनै दिन हुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।”

बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको बताउँदै यादवले बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मिहिनेत र खर्च भएको जानकारी दिए । “मान्छे प्रकृतिमा रमाउन चाहान्छ । अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले जलकुम्भी थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ”, उनले भने ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?