साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले आज अदालतमा बयान दिँदै छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सो बयान हुँदै छ ।
शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध पाँच अभियोगमा बुधबार अदालतमा मुद्दा दर्ता गरेको थियो । तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । १४ जना फरार छन् । पक्राउ परेकाहरूको न्यायाधीश न्यौपानेसामु बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल गरी ठगीलगायत कसुर गरेको अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध ठगीसहित सरकारी लिखत किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।