साझा कथा । कैलालीको टिकापुरमा भएको ७ जना सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको घटनामा दोषी करार भई जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई सरकारले आममाफी दिने तयारी गरेको छ । २०७४ साल फागुन १५ देखि कारागारमा रहेका चौधरीलाई जन्मकैदको फैसला सुनाइएको थियो ।
उनको बाँकी जन्मकैदको सजाय माफी गर्न निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ । यसबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चौधरीको टिमका प्रतिनिधि राष्ट्रपति निवास पुगेका थिए ।
गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार पूर्वसांसदसमेत रहेका चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमाथि अध्ययन भइरहेको छ ।
यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सर्वोच्च अदालतले पनि गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले १५ वर्ष कैद सजाय मिनाहा पाउने छन् ।
उनले पार्टी स्थापना गरेपनि उनकी श्रीमति रञ्जिता श्रेष्ठले पार्टीको नेतृत्व गरिरहेकी छन् । उनीहरुका ४ जना संघीय सांसद छन् ।