साझा कथा । सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई इरिटेट गर्ने काम भइरहेको बताएका छन् । बुधवार लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि बिहीबार उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भनेका छन् ।
सर्वोच्च अदालतको मिति २०७९—१०–१३ को फैसलाको प्रकरण नं २२, २८ र ३२ मा आफूले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको लामिछानेले बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।
‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०–०२–०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५–०३–०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ,’ उनले लेखेका छन् । लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने भन्दै चेतावनी पनि दिएका छन् ।