आज सिथि नखः पानीको मुहान र स्रोत सफाई गर्ने पर्व

साझा कथा । वर्षा अघिको अन्तिम चाडको रुपमा नेवार समुदायले मनाउने सिथि नखः पर्व आज देशभर मनाइँदै छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ ।

सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । वर्षातको बेला बगेर आउने भेल र फोहर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यस पर्वको विशेषता हो । साथै हिउँदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो । यस चाडसँगै वर्षा सुरु हुने र किसानको वर्षको महत्त्वपूर्ण कार्य सिन्या ज्याः (धान रोपाइँ) सुरु हुने भएकाले यस चाडलाई वर्षा अघिको अन्तिम चाडको रूपमा लिइन्छ ।

नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ । त्यसैले नेवार समुदायका चाडपर्व खानेकुराको नामले समेत प्रसिद्ध छ । त्यस्तै पर्वमध्ये एक हो सिथि नखः पर्व । आजको दिन घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?