यस बर्ष पनि रासायनिक मलको अभाव झेल्दैछन् कृषकहरु

साझा कथा । हरेक बर्ष रासायनिक मलको तनावले कृषकहरु हैरान हुने गर्दछन् । सरकारले यो बर्ष समयमै पाठ्यपुस्तक पुर्याएझैँ रासायनिक मल पनि समयमै पुर्याउने र पुग्दो आपुर्ति गर्ने घोषणा गरेको छ । तर परिस्थितिले देखाइरहेको छ, यस पटक पनि कृषकहरुले रासायनिक मलको चरम अभाव झेल्नु पर्नेछ ।

खासगरी तनहुँ, लमजुङ र गोरखाका कृषकहरुले रासायनिक मलको अभाव झेल्ने भएका हुन् । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।

मलको समस्या र अभाव चुलिएपछि कृषक समस्यामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले माग अनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको जानकारी दिए । शर्माले भने, ‘‘एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाड्नु परेकोले मलको अभाव भएको हो ।’’

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव हुन थालेको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट टे«डिङले कर्पोरेशनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव जेल्नुपर्ने देखिएको छ ।

तनहुँ, लमजुङ र गोरखाका लागि माग अनुसारको एक तिहाई मात्रै मल भित्रिएको लिमिटेडले जनाएको छ । ८३६ मेट्रिक टन युरिया, ४८३ मेट्रिक टन डिपिए, पोटास ६८ मेट्रिक टन मल आएको र यो मागको एक तिहाई मात्रै भएको शर्माले जानकारी दिए । पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास १५० टन आवश्यक पर्छ ।

खेतबारीमा पाङ्गरिक मलभन्दा पनि प्रायः सबैले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले माग समेत बढ्दै गएको छ । धान बालीमा कम्पोष्ट मलको प्रयोग हुन छाडिसकेको र सबै तिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावमा उत्पादनमा असर पर्ने देखिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?