बल्ल पूर्ण भयो प्रचण्डको क्याबिनेट, उपेन्द्र यादव किन भएनन् मन्त्री ?

साझा कथा । सरकार गठन भएको ६ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पूर्ण भएको छ । प्रचण्डले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २ जना मन्त्री थपेपछि क्याबिनेट पूर्ण बनेको छ । नवनियुक्त मन्त्रीहरुमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरु वीरेन्द्रप्रसाद महतो र प्रमिला कुमारी रहेका छन् । महतोलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ भने कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकिएको छ ।

महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए । उनीहरुको शपथ भोली १० बजे हुने बताइएको छ । जसपाले सरकारमा यस अगाडी शिक्षामन्त्रीका रुपमा अशोक राईलाई पठाईसकेको छ ।

उपेन्द्र यादव प्रचण्ड नेतृत्वको सरकारमा जान लालायित थिए । प्रचण्ड स्वयंले पनि यादव सरकारमा आउँदा आफूलाई अझ सहज हुने बताउने गरेका थिए । मंसिर ४ को चुनावमा सिके राउतसँग नमीठो पराजय व्यहोरेका यादव उपचुनावबाट बिजयी भएर सरकारमा जान चाहेका थिए । तर उपनिर्वाचन सम्पन्न भइसकेपछि उनले सरकारमा जाने व्यक्तिको टुंगो नलगाउँदा पार्टीभित्र र बाहिर उनको आलोचना पनि भएको थियो ।

जसपाले पाएको २ वटा मन्त्रालयमा पार्टी अध्यक्ष र वरिष्ठ नेता दुबै जना जान नहुने अडानमा थिए केही सांसद । खासमा जसपाबाट प्रदीप यादवले मन्त्री बन्न अनकौँ कोसिस गरिरहेका थिए । तर उपेन्द्र प्रदीपलाई रोक्न चाहन्थे । आफू जाँदा पार्टीभित्र विवाद बढ्ने, गञ्जागोल हुने र प्रदीपलाई पठाउँदा आफ्नो इगो हर्ट हुने भएपछि अन्ततः यादवले मध्यमार्गी बाटो समात्दै वीरेन्द्र प्रसाद महतोलाई मन्त्री बनाए ।

तराई आन्दोलनबाट उदाएका उपेन्द्र यादव मन्त्रीविना बस्नै नसक्ने नेता हुन् । उपचुनावले उनलाई मन्त्री बन्न बाटो खुल्ला पनि गरेको थियो तर पार्टीभित्रको समीकरण बाधक बन्यो र उनले मन मारेरै भएपनि अर्को व्यक्तिलाई मन्त्री बनाउनुपर्यो ।

संयोगबस् केन्द्रमा सरकारको नेतृत्व गरिरहेको माओवादी जनता समाजवादीले नेतृत्व गरेको मधेसको प्रदेश सरकारबाट बाहिरिएको छ । दुई वटा मन्त्रालय माग गरिरहेको माओवादीलाई मुख्यमन्त्री सरोजकुमार यादवले माग गरे अनुसारको मन्त्री नदिई कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा समेटेर मनित्रपरिषद् विस्तार गरेपछि माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय लिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?