साझा कथा । सरकारको नीति तथा कार्यक्रमका विषयमा धारणा राख्ने, सुझाव दिने र त्रुटीहरु सच्याउने लगायतका छलफल गर्नुपर्ने संसदको बैठकमा व्यक्तिगत आलोचना, पार्टीगत छेडखानीहरु चलिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो १ घण्टा ४० मिनेट भाषणमा अधिक समय विपक्षीको आलोचनामा खर्चिए भने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको आलोचना गरे । यस्तै विभिन्न दलका सांसदहरुले पनि विपक्षीहरुको दोहोलो काट्न समय खर्चिरहेको बेला सोमबार प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराई तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलबीच पनि जुहारी भएको छ ।
सरकारले ५ जेठमा संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल लिने क्रममा ‘जनयुद्ध शब्द’ लाई लिएर दुई नेताबीच जुहारी चलेको हो । नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकामा पहिला छलफलमा भाग लिएका एमाले सांसद भट्टराईले आपत्ति जनाएका थिए । त्यसपछि बेलेका माओवादी केन्द्रका सांसद पौडेलले संसदबाटै जवाफ फर्काउँदै शब्कोष पल्टाएर हेर्न आग्रह गरे ।
सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममा छलफल गर्ने क्रममा भट्टराईले नीति तथा कार्यक्रमको पहिलो बुँदामा नै जनयुद्ध शब्द राखेकामा आपत्ति जनाएका थिए ।
‘नीति तथा कार्यक्रममा जनयुद्ध उल्लेख छ । यो शब्द सरकारी दस्तावेजमा उल्लेख छैन । पहिलो पटक राष्ट्रपतिको मुखबाट यो शब्द बाचन गर्न लगाउनुभएको छ । संविधानमा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विषयमा धेरै नै छलफल भएपछि जनयुद्ध शब्द राखिएको थिएन,’ भट्टराईले संसद्मा छलफलका क्रममा भनेका थिए, ‘कांग्रेसले जनयुद्ध शब्दलाई स्विकार गर्नु भनेको कांग्रेसको लागि इन्ड अफ हिस्टोरी हो।’
भट्टराईपछि संसदमा आफ्नो धारणा राखेका पौडेलले भने, ‘माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो ? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरु लडेका युद्ध थियो ।’
नेता पौडेलले भट्टराईलाई बृहत शान्ति सम्झौता बिर्सनुभयो ? भन्ने प्रश्न पनि गरे । ‘तपाईको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो । हामी त्यही श्रृङ्खलामा छौं’, उनले भने ।