साझा कथा । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । विभागले घटेको मूल्य आज (बुधबार) देखिनै लागू भएको जनाएको छ ।
विभागका अनुसार यात्रुबहाक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबहाक गाडीमा ४.६५ प्रशितले भाडा घटेको छ ।
यसैगरी अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट काठमाडौं–अत्तरीया–मार्तडी (बाजुरा) जुन ९४४.६ किमी छ, त्यसको भाडा २९५९ रुपैयाँ कायम भएको छ । काठमाडौंदेखि पोखराको भाडा ६१६ रुपैयाँ कायम गरिएको छ ।
सरकारले मंगलबार मात्रै डिजेल र मट्टितेलमा १० रुपैयाँका दरले भाउ घटाएको थियो । पेट्रोलको भाउ भने यथावत नै छ ।