साझा कथा । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल बनेको रुपन्देहीको गौतमवुद्ध विमानस्थल एकबर्षदेखि लगभग ठप्प छ । अन्तर्राष्ट्रिय एअरलाइन्सको उडान मात्रै होइन, राष्ट्रिय एअरलाइन्सका उडान पनि कम छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले ६० अर्बभन्दा बढी लगानी गरेको छ तर सबै लगानी वालुवामा पानी हालेजस्तै भइरहेको छ ।
विमानस्थल संचालन भएपछि निक्कै खुशी देखिएका निजी क्षेत्र तथा बुटवल, भैरहवाकाका नागरिकको आशा र खुसी वर्ष दिन पनि टिकेन । विमानस्थल सञ्चालनमा आएको वर्ष दिन पुगेको छ । विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । यहाँ जहाज उडेका छैनन् । अक्कलझुक्कल विमान उडाएको अल जाजिराले पनि अहिले उडान रोक्ने सन्देश दिइरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार होटलमा मात्र होइन, होटल निर्माणदेखि सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री विक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानका साथै अन्य व्यवसायमा पनि अर्बौँअर्बको लगानी भएको छ ।
अध्यक्ष शर्मा भन्छन्, “विमानस्थल सञ्चालनमा आएपछि यसका कारणले मात्र दैनिक करिब २० हजार व्यक्तिको चहलपहल र चाप हुने हाम्रो आकलन थियो । यसको ठूलो आशाले यो क्षेत्र व्यावसायिक हव बनिसकेको पनि छ, तर अहिले हामीले सोचेजस्तो गरी विमानस्थल सञ्चालनमा आउन सकेन, यसले त हामीलाई निराश मात्र बनाएको छ । यतिका धेरै लगानी डुब्ने त्रासमा बसिरहेका छौँ ।”
ऋणमा बनेको विमानस्थलको सञ्चालनमा सरकारले पैरवी नगरेको गुनासो व्यवसायीको छ । विमानस्थलमा निर्माणका लागि लगानी गरेको एडिबीले सम्भाव्यता अध्ययन नगरी लगानी गरेको होला भन्ने कल्पना त गर्न सकिँदैन तर किन लगानीअनुसार यो विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउन सकिएको छैन भन्ने कुरा बडो अन्योलपूर्ण रहेको छ । “एयररुटको कुरा, भारतीय अवरोधका कुरा सबै मिथ्या हल्ला मात्र हुन्, यस विषयमा बुझेर मात्र एडिबीले लगानी गरेको भन्नेमा हामी पूर्णरूपमा विस्वस्त छौँ”, शर्माले भने, “नेपाल सरकारले यसमा अग्रणी भूमिका निर्वाह गरेर यो समस्यालाई साम्य गर्नुपर्छ, विमानस्थल सञ्चालन गर्नुबाहेकको अर्को विकल्प छैन, हामीले सरकारसँग गर्ने माग पनि यही हो ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणका क्रममा उनले यो विषयमा भारतसँग दह्रोरूपमा कुरा उठाउन र यसलाई सञ्चालनमा ल्याउन ठोस पहल चाल्न सक्छन् । तर किन विमानस्थलमा एअरलाइन्सहरुको रुची भएन भन्ने विषय अन्यौलको विषय बनेको छ ।
अर्बौँको लगानी जोखिममा
विमानस्थल निर्माणसँगै भैरहवा तथा यस आसपासका क्षेत्रमा तारे होटल खुल्ने क्रम बढ्यो । विमानस्थललाई नै लक्षित गरी भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् । यिनीहरूमा करिब ३० अर्ब लगानी भएको सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । यसबाहेक २० अर्ब बढीका २१ वटा होटल अहिले पनि निर्माणाधीन छन् । विमानस्थललाई नै लक्षित गरी गरिएका अर्बौँको लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा डुब्ने खतरा बढेको छ, व्यवसायीहरूमा बैैंकको ब्याज तिर्न नसकेर तनाव बढ्दै गएको छ, कतिपय त पलायन हुने अवस्था आएको छ ।
रुट हैन समस्या
विमानस्थल प्रमुख हंशराज पाण्डेका अनुसार बाहिर हल्ला भएजस्तो रुटकै समस्याको कारण विदेशी विमान नआएको सत्य होइन । विमानलाई काठमाडौँभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने पाण्डेको भनाइ छ । “सिमराबाट छिरेका विमानलाई काठमाडौँ जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीका दृष्टिले केही टाढा रहे पनि काठमाडौँजस्तो अवरोध यहाँ छैन”, पाण्डेले भन्नुभयो, “आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन ।”
बाहिर उड्ने विमानलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने उनको भनाइ छ । “यो कुरा पाइलटले पनि बुझेका हुन्छन्, त्यसकारण रुटकै कारण विमानस्थल नचलेको निराधार हल्ला हो”, पाण्डेले भने ।