साझा कथा । नेकपा एमालेका सांसद टोपवहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि सोमबार जिल्ला अदालतबाट ३ दिन थुनामा राखि अनुसन्धानका लागि म्याद थप गरिएको छ । उनी पक्राउ परेको जानकारी प्रहरीले संसद सचिवालयमा दिएपछि सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उनी पक्राउ परेको जानकारी गराए ।
सांसद रायमाझीको पद के हुन्छ भन्ने विषयमा सर्वत्र चासो छ । कतिपयले सभामुखले जानकारी गराएसँगै रायमाझी निलम्बन भएको बताएका छन् भने कतिपयले निलम्बन नहुने बताएका छन् । खासमा उनको सांसद पद अझै निलम्बित भएको छैन । उनी पक्राउ परेपनि उनको सांसद पद अझै यथावत छ ।
पक्राउ परेका सांसदका बारेमा सभामुखाई प्रहरीले जानकारी दिएपछि सभामुखले दुईवटा काम गर्न सक्छन् । पहिलो संसद चलिरहेको बेला प्रहरीले पक्राउका बारेमा जानकारी दिएमा त्यसको जानकारी सदनलाई गराउने र दोस्रो संसद नचलेको भए उनले सचिवालयमार्फत पक्राउको सूचना जारी गरेर जानकारी दिने ।
अहिले संसद जारी छ । त्यही बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को उपनियम २४८९१० बमोजिमको पत्र संसदलाई जानकारी गराएका हुन् । यस्तो अवस्थामा उनको सांसद पद भने निलम्बनमा परेको छैन ।
कसरी निलम्बित हुन्छन् रायमाझी ?
रायमाझीको पद निलम्बन हुनका लागि प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षका लागि थुनामा रहेको हुनुपर्ने वा थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पूर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त नहुने र त्यस्तो अवधीभर निलम्बनमा रहने र पारिश्रमिक सेवा र सुविधा समेत स्थगित हुने संसदको नियमावलीमा उल्लेख छ ।
अहिले रायमाझी थुनामा मात्र परेका हुन् । यदि उनी विरुद्धको मुद्दा अदालतमा लगिसकेपछि अदालतले पूर्पक्षमा थुनामा राखेमा मात्रै वा तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय गरेमा मात्र उनी निलम्बित हुनेछन् ।