साझा कथा । नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक रुपमा नाम जोडिएकी नेपाली काँग्रेसकी सांसद तथा सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाले आफ्नो चरित्रमाथि बलात्कार भएको बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राणाले आफूमाथि लागेको आरोप पुष्टि गर्न चेतावनी समेत दिएकी छन् ।
‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो चरित्र हत्या होइन,’ उनले भनिन्, ‘दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’
सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाउँदै फेक अडियो रोक्न आग्रह गरेकी हुन् । उनले उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको बताइन् ।
यस्तै, सांसद राणाले नक्कली भुटानी शरणार्थीको घटनाले देशलाई लज्जास्पद बनाएको बताउँदै यस्तो कामलाई रोक्नु पर्ने बताइन् । ‘नक्कली भुटानी शरणार्थी देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको छ, मलाई पनि यस्तो लागेको छ,’ उनले थपिन्, ‘कस्तो परिस्थिति बन्यो होला, हाम्रो देशमा आफ्नो नागरिकता भएकालेहरूले पनि त्यागेर म चाहिँ अर्को देशको नागरिक बन्छु भनेर जाने कस्तो होला ?’