साझा कथा । लामो समयदेखि पेन्डिङ रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) अघि बढ्ने संकेत देखिएको छ । प्रमुख तीन राजनीतिक दलबीच टीआरसीलाई प्रतिनिधिसभाको विषयगत समितिअन्तर्गत उपसमिति गठन गरी अगाडि बढाउने निर्णय भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले सो सहमति गरेको हो ।
यसअघि उक्त विधेयकलाई संसदीय विशेष समिति गठन गरी अगाडि बढाउने सहमति भए पनि प्रतिनिधिसभा बैठकमा कार्यसूची तय भएर अगाडि बढ्न सकेको थिएन । प्रतिनिधिसभाले संक्रमण कालीन न्यायसम्बन्धी विधेयकलाई दफाबार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ । द्वन्द्वकालीन मुद्दाहरुको किनारा लगाउन पनि यो विधेयक महत्वपूर्ण छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए । यस्तै, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, एमाले संसदीय दलका उपनेता नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको पनि उपस्थिति थियो ।