यसबर्षको नीति कार्यक्रम प्रधानमन्त्री प्रचण्डले नै पढ्ने, भन्लान् ‘मेरो सरकार’ ?

साझा कथा । राष्ट्रपतिबाट वाचन गर्न लगाइने गरिएको सरकारको नीति तथा कार्यक्रम यसबर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै पढ्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पूर्ण सुधार आउन नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रम पढ्ने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो ।

‘राष्ट्रपति जी अलि अस्वस्थ हुनुहुन्छ, सबै उहाँले पाठ गर्न सक्नुहुने होइन,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रेमश लेखकले भने, ‘राष्ट्रपतिजीले पाठ गर्न नसकेपछि संक्षिप्तमा राष्ट्रपतिले पढेर प्रधानमन्त्रीले पढ्ने होकि नीति कार्यक्रम भन्नेबारे छलफल भएको छ ।’

यसबारे कार्य व्यवस्था समितिले निर्णय गर्ने उनको भनाइ छ । आगामी जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेको छ । यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बखत राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पढ्ने क्रममा ‘मेरो सरकार’ उल्लेख गरेको भन्दै तीव्र आलोचना भएको थियो । त्यसलाई सच्याउँदै अर्को बर्षको नीति कार्यक्रममा नेपाल सरकार भनेरै पढिएको थियो ।

अहिले प्रधानमन्त्री आफैँले पढ्ने भएपछि कसरी पढ्छन् भन्ने कौतुहलताको विषय बनेको छ । नीति कार्यक्रम राष्ट्राध्यक्ष र बजेट भाषण अर्थमन्त्रीले गर्ने भएका कारण प्रधानमन्त्रीहरुले यसअघि संसदमा सरकारका योजना, नीति कार्यक्रम वा बजेट पढ्ने अवसर पाएका थिएनन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?