साझा कथा । जनआन्दोलन २०६२–०६३ मा घाइते भएका तथा ‘ज्यूँदो शहीद’ भनेर चिनिएका बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शीर मेमोरियल अस्पतालमा बुधवार साँझ निधन भएको हो ।
१८ वर्ष अघि अर्थात् वि सं २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते कायस्थ घाइते भएका थिए। वि.सं. २०६२ साल चैत २६ गते काभ्रेपलान्चोकको उग्र चण्डी नालाका भीमसेन दाहालको गोली लागेर मृत्यु भएपछि दाहालको शव जिल्लामा ल्याउने तयारी भएर आन्दोलन चर्किएको बेलामा मुकेश साथीहरूसँग आन्दोलनमा सहभागी भएका थिए । जनआन्दोलनका क्रममा घाइते भएका मुकेशलाई गत सोमबार सास फेर्न गाह्रो भएपछि उपचारका लागि शीर मेमोरियल अस्पताल लगिएको थियो ।
जनआन्दोलनका क्रममा घाइते भई ओछ्यानमा नै परेका मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराएर २०६३ फागुन ११ गते घर लगिएको थियो । विभिन्न समयमा विभिन्न समस्या देखा परेपछि वीर अस्पताल, अन्नपूर्ण न्युरो, मेडिसिटी, स्पार्क हेल्थ होमलगायतका अस्पतालहरुमा उपचार गरिएको थियो । २०७६ सालमा छारे रोग जस्तो देखा परेर मस्तिष्कको नशाले काम नगरेपछि अप्रेसन समेत गरिएको थियो । सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपियाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपियाँको व्यवस्था गरेको थियो ।
जनआन्दोलनमा घाइते भएका मुकेशको परिवारलाई सरकारले क्षतिपूर्ति बापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट दुई लाख, विभिन्न सङ्घसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो भने पछि सरकारले पुनः साढे सात लाख दिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।