बेलायती राजाले राजमुकुट पहिरिँदा हिन्दु प्रधानमन्त्रीले वाचन गरे बाइबलका श्लोक

साझा कथा । बेलायतका राजा चार्ल्स तृतीयले विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । शनिबार बेलायती नरेश चार्ल्सको शिरमा धर्मगुरु आर्चबिसपले ३६० वर्ष पुरानो सेन्ट एडवार्डको मुकुट राखिदिए ।

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् । सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहिर्याइदिएका थिए ।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो । वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाइबलका श्लोकहरू बाचन गरेका थिए । उनी हिन्दू हुन् ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उनीहरूको स्वागत गरेको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?