ठेला व्यवसायबाटै हुन्छ मनग्ये आम्दानी

साझा कथा । काम गर्ने आत्मविश्वास र शरीरमा जाँगर हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्छ भन्ने छैन । । वास्तबमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्न सके काम र दाम दुवै यहीँ छ ।

यसका उदाहरण हुन् झापा बिर्तामोडका विभिन्न सडक पेटीमा ठेला–व्यापार गर्नेहरु । झापाको बिर्तामोड पछिल्लो समय तीव्रगतिमा सहरीकरण भइरहेको कोशी प्रदेशको व्यापारिक केन्द्र हो । विर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँमा राखिएका ठेला व्यापारले धेरैको जीविकोपार्जन राम्रो भएको छ ।

भारत घर भएका राजकुमार साह बिर्तामोडको भद्रपुररोडमा २० वर्षदेखि ठेलामा मःमः, चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । छोरीको स्कुल खर्च, कोठा भाडा, औषधि उपचार खर्च गरेर पनि राम्रै बचत गर्न सकेका छन् उनले ।

भद्रपुररोडमा दिउँसो २ बजेदेखि ठेलाको मःम चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक दुई/तीन हजारको व्यापार गर्ने गरेका छन् । ठेला व्यापारबाटै उनको पनि तीन जनाको परिवार राम्रैसँग चल्दै आएको छ । ठेलामा मःम, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानीपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने भएकाले सानो लगानी गर्नेका लागि यो रोजाइको व्यवसाय बनेको छ ।

घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्ररूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो हुने भएकाले पनि ठेला व्यापारतर्फ धेरैको आकर्षण देखिन्छ । बि एण्ड सी हस्पिटल अगाडि ठेलामा जुुुस बेच्दै आएका प्रभु साह कामलाई सम्मान गर्नसके त्यसबाट आम्दानी राम्रो हुने बताउँछन् । हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।

झापा मात्रै होइन, देशभरका विभिन्न सहरमा ठेला व्यवसाय गर्नेहरुले राम्रै दैनिकी चलाइरहेको देखिन्छ ।

ठेलामा व्यापार गर्नेले वर्षैभरि एकै किसिमको व्यापार नगरी मौसमअनुसार व्यापार गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । धनकुटा स्थायी घर भई तीन वर्षयता विर्तामोडमा ठेलाको व्यापार गर्दै आएका सनमान तामाङले मौसमअनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएका कारण मौसमी व्यापारमा लागेको बताउँछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?