साझा कथा । एसीसी प्रिमियर कप क्रिकेटमा ऐतिहासिक जित निकाल्दै नेपालले एसिया कपमा आफ्नो स्थान बनाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा मौसमका कारण सोमबार र मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । १० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, यूएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् ।
नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् । सन् १९८४ बाट सुरु भएको एसिया कपको १६ औं संस्करणमा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा कुल एक सय १८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत खराब रह्यो । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।
सङ्कटमा परेको नेपालको पारी गुलसन झा र भीम सार्कीले उकासे । दुबै जनाबीच ९६ रनको साझेदारी रह्यो । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । यस क्रममा झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने । बलिङतर्फ यूएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए ।
यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । उसका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए ।