एसीसी प्रिमियर कपः फाइनलमा नेपाल र यूएई भिड्दै, मौसम आज झनै खराब हुने अनुमान

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । आज हुने खेलमा नेपाल र यूएई आमुन्नेसामुन्ने हुँदैछ । खेलको रोमाञ्चकता जति बढ्दैछ, मौसमले झनै बढी पीर पनि दिएको छ ।

आजको फाइनल खेल कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल त्यो अवसर नगुमाउने पक्षमा देखिन्छ । तर, नेपालका लागि भर नभएको मौसम र बलियो प्रतिद्वन्द्वी यूएई दुबैको चुनौति उस्तै छ ।

नेपाल अहिलेसम्म एसिया कपमा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ । सेमिफाइनलमा कुवेतलाई पछि पार्दै नेपालले फाइनलमा स्थान बनाएको हो भने यूएईले ओमानलाई पाखा लगाएको थियो । नेपाल हालसम्म यो प्रतियोगितामा अपराजित रहेको छ ।

त्यस्तै, पछिल्ला तीन खेलमा यूएईविरुद्ध पनि नेपाल अपराजित रहेको छ । यो आधारमा नेपालले आजको खेलमा विजयी हासिल गर्नेछ भन्ने अनुमान लगाउन सकिन्छ । तर, मौसमले दिने चुनौति भन्न सकिन्न ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाले आज काठमाडौं उपत्यकाको मौसम हिजोको भन्दा झनै खराब रहने अनुमान गरेका छन् । ‘काठमाडौंमा हिजोजस्तो बदली आज पनि कायमै रहनेछ’ मौसमविद् झाले भने, ‘आज बिहान १०/११ बजेको समयपछि दिउँसो २/३ बजेको समयसम्म मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने सम्भावना उच्च छ ।’

फाइनल खेल वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान सहित खेल दुई दिनसम्म खेलाउन सकिनेछ । बिहान टस भएसँगै खेल सुरु भइसकेपछि वर्षाले बिथोलिएको अवस्थामा अपराह्न ४ः४० सम्मको समयमा कम्तीमा २० ओभरको खेल सञ्चालन गर्ने प्रयास गरिनेछ । त्यो प्रयास पनि असम्भव भएमा अम्पायरले सुपर ओभरबाट खेलको नतिजा निकाल्न पाउनेछन् ।

पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभरबाट पनि खेलको नतिजा ननिस्किएमा आईसीसी वरीयताका आधारमा विजेता छिनोफानो गरिनेछ । तर, सोमबार नियमित वा सुपर ओभरको खेल हुन सकेन भने मंगलबार खेलाइनेछ ।

टस भएर खेल संचालन भइसकेको अवस्थामा वर्षा बाधक भएको छ भने जुन अवस्थाबाट खेल स्थगित भएको छ सोही अवस्थाबाट भोलिपल्टको खेल सुरुवात हुनेछ । मंगलबार पनि वर्षाले असर गरेको अवस्थामा अघिल्लो दिनको जस्तै कम्तीमा २० ओभरको खेल खेलाउने प्रयास हुनेछ, त्यो पनि सम्भव नभए सुपर ओभर हुनेछ ।

खेलमार्फत हुने सबै प्रकारका नतिजा असम्भव भएको अवस्थामा आईसीसी वरीयताका आधारमा अगाडि रहने टिमलाई उपाधि विजेता बनाइनेछ । जहाँ नेपाल भाग्यमानी बन्दै एसिया कपमा प्रवेश गर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?